Tue. Dec 24th, 2024

कोरोना संक्रमण समुदायमा फैलिएपछि एन्टिबडी परीक्षण सुरु

काठमाडौं, २०७७ असोज २३ गते शुक्रबार

सरकारले कोभिड-१९ को संक्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली आजदेखि सातवटै प्रदेशमा खटाएको छ। काठमाडौँमा तालीमपश्चात टोलीलाई आज प्रदेश खटाइएको हो।

महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड-१९ को संक्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने अध्ययन गर्न टोली परिचालन गरिएको बताए। अध्ययनबाट नेपालमा समुदायस्तरमा संक्रमण फैलिएका छ वा छैन र फैलिएको रहेछ भन्ने कुन तहमा रहेको छ भन्ने पनि पत्ता लगाउने उनले जानकारी दिए।

एन्टिबडी परीक्षणका लागि समुदायमा ‘सेरो प्रिभिलेन्स’ अध्ययन गरिने छ। टोली आज सम्बन्धित स्थानीय तहमा पुगेर शनिबार स्थानीय प्राविधिकसँग तालीमपश्चात आइतबारबाट रगतको नमूना सङ्कलन गर्नेछ। नेपाल अहिले संक्रमणको दोस्रो चरणमा रहेको छ। सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ। गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरमै रहेका अर्को स्थानीय व्यक्तिमा संक्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो। संक्रमणको तेस्रो चरण भनेको समुदायमा संक्रमण फैलिएको भन्ने हुन्छ तर नेपालमा कुनै खासखास ठाउँमा (क्लस्टर) मा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ।

‘नेपालमा अहिले केही जिल्लाका  खासखास ठाउँमा (क्लस्टरं)मा संक्रमण फैलिएको छ’, उनले भने, ‘अब समुदायको कुन तहसम्म फैलिएको छ भन्ने त अध्ययनबाट थाहा हुन्छ।’ गत माघ १० गते नेपालमा पहिलो पटक संक्रमण देखिएको थियो।

अहिलेसम्म नेपालमा ९८ हजार ६१७ जनामा संक्रमण देखिएको छ। यस्तै ७१ हजार ३४३ जना संक्रमणबाट निको भएको, ५९०  जनाको निधन र २६ हजार ६८४ जना सक्रिय सङ्क्रमित रहेका छन्।

यस्तै अहिलेसम्म २३५ जना आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्। महाशाखाले एन्टिबडी परीक्षणका लागि प्रत्येक प्रदेशमा छ समूह परिचालन गरेको छ। ती समूहले बच्चा, वृद्धा, महिला, युवालगायत विभिन्न उमेर तथा समूहका ट्राभल हिस्ट्री भएका र नभएका मानिसको रगत सङ्कलनबाट एन्टिबडी परीक्षण गर्ने छन्।

यस्तै सङ्क्रमित भएका र नभएकाको पनि एन्टिबडी परीक्षण गर्नेछ। महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले प्रत्येक प्रदेशका ३० वडामा रहेका मानिसको रगत नमूना परीक्षण गरिने बताउनुभयो। उहाँका अनुसार एक वडामा १५ जनाको दरले नमूना परीक्षण गरिने छ।

यसरी प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १५० जनाको नमूना सकलन गरी परीक्षण गरिने छ। उनले दसैं अगाडि सबै नमूना सङ्कलन गरेर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने बताए। कोभिड-१९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि मन्त्रालयले समुदायस्तरमा संक्रमण फैलिएको भन्नेबारेमा अध्ययन शुरु गरेको हो।

अध्ययनका क्रममा जति प्रतिशतलाई संक्रमण देखियो त्यतिप्रतिशत नै नेपालमा संक्रमण फैलिएको भन्ने अनुमान गर्न सकिने महाशाखाका जनस्वास्थ्य अधिकृत महतोले जानकारी दिए। ‘संक्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाउँछ’, महाशाखाका निर्देशक डा पाण्डेले भने, ‘तर अब अध्ययन गरेपछि मात्र समुदायमा संक्रमण छ वा छैन भन्ने पुष्टि गर्दछ’ भनि राससलाई उद्धत गर्दै अन्नपूर्ण पोष्ट दैनिक अनलाईनले समचार लेखेको छ ।

Facebook Comments