Sat. Apr 20th, 2024

पूर्वमन्त्री मोहम्मद आफताब आलमको थुनछेक बहस जारी, आधारहिन प्रमाणले मुद्दा चलाउन नसक्ने निजका कानून व्यवसायीहरुको जिकिर

गौर, २०७६ कार्तिक २७ गते बुधबार ।

विस्फोटक पदार्थ बमसमेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको मुद्दाको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमको थुनछेक बहस जारी रहेको छ ।

रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा पूर्वमन्त्री आलमको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरुले आलमलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग गर्नुभएको छ ।

आलमको तर्फका कानून व्यवसायीहरुले सनाखत मुचुल्का, खान तलाशीको कानूनी प्रक्रिया अनुसार नरहेको, प्रमाण संकलनको श्रोत कानून विपरित रहेको भन्दै उहाँहरुले यस्तो आधारहिन प्रमाणले मुद्दा चलाउन नसक्ने दावी गर्नुभयो ।

गोरखापत्र अनलाईनका अनुसार  नेपाल सरकारले पेश गरेको अभियोग पत्र आधारहिन रहेकोे आरोप लगाउँदै बम पड्केको, मान्छे मरेको पुष्टि हुँदैन भन्नुहुँदै उहाँहरुले राजनीतिक प्रतिस्पर्धा गर्न नसकी मुद्दा हालेकाले पूर्वमन्त्री आलमलाई साधारण तारेखमा रिहा गर्नुपर्नेे माग गर्नुभएको छ ।

पूर्वमन्त्री आलमको तर्फबाट बुधवार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता संजिवकुमार मल्लिक, लालबाबु राय यादव तथा अजय पटेल गरी चारजना कानून व्यवसायीहरुले बहस गर्नुभएको थियो । आलमको तर्फबाट १३ जना वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरुले बहस गरी सक्नु भएको हो ।

यसअघि बहसमा सरकारी तथा जाहेरीवालाका वकिलहरुले मिसिलमा रहेको प्रमाणहरुले घटनामा आलमको प्रत्यक्ष संलग्नता रहेको पुष्टि भएको भन्दै आलमलाई थुनामा राख्न माग गर्नुभएको थियो ।

पूर्वमन्त्री आलमको तर्फका वकिलहरुको बहस सकिएपछि सरकारी वकिलले संक्षिप्त जवाफ दिनुहुनेछ । त्यसपछि आलमलाई मुद्दा पुर्पक्षयको सिलसिलामा थुनामा राख्ने, धरौटी वा साधारण तारेखमा छाड्ने आदलतले आदेश गर्नेछ ।

Facebook Comments