Fri. Jun 19th, 2026

वसन्तपुरमा चीर ठड्याइएसँगै होली अर्थात् फागु पर्व शुरू

रङ्गहरूको पर्व भनेर चिनिने फागुपूर्णिमा (होली)का अवसरमा शुक्रबार काठमाडौँको वसन्तपुरस्थित हनुमान ढोका दरबार क्षेत्रमा ठड्याइएको चीर । फागुन शुक्ल अष्टमीका दिन हनुमान ढोका दरबार अगाडी चीर ठड्याएपछि देशभर होली पर्व सुरु भएको मान्ने प्रचलन रहेको पाइन्छ । तस्बिरः हरिराम भेटुवाल/रासस

       

काठमाण्डू, २०८१ फागुन २३ गते शुक्रबार । रङ्गहरूको पर्व होली अर्थात् फागु पर्व आजदेखि शुरू भएको छ ।

आज बिहान काठमाण्डूको वसन्तपुरमा चीर ठड्याइएपछि विधिवत रुपमा होली शुरु भएको हो । फागुन शुक्ल अष्टमीका दिन काठमाण्डूको वसन्तपुरस्थित हनुमान ढाेका दरबार अगाडि रंङ्गीचङ्गी ध्वजा पतका सहितको चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मान्ने प्रचलन छ ।

बिहान ८ बजेर ३३ मिनेटको साइतमा चीर ठड्याइएको हो । चिर ठड्याउने समयमा त्यहाँ उपस्थित हुने सबैले एकअर्कालाई अबिर दलेर होली पर्वको सुरुवात गरेका थिए  । वसन्त उत्सवका रुपमा समेत मानाइने रंगहरुको पर्व होलीको पौराणीक तथा सांस्कृतिक महत्व रहेको छ ।

धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुको आसुरी पक्ष, प्रल्हाद भक्तिको शक्ति र शक्तिको दुरुपयोग गर्ने होलिका दहनसँग पनि यस पर्वलाइ जोड्ने गरिएको छ । यसरी होलिकाको शक्तिको आसुरी पक्ष अन्त्यको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुंडिखेलमा पुर्‍याइ दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै बसन्त ऋतु प्रारम्भ हुन्छ ।

यस वर्षको होली पर्व फागुन २९ गते पहाडी जिल्लामा र चैत १ गते तराईका जिल्लामा सार्वजनिक बिदा दिइएर होली मनाइने भएको छ । होली पर्वका बेला सरकारले सार्वजनिक विदा दिने गरेको छ ।

Facebook Comments