नेपाली कांग्रेस (वीपी) द्वारा जलपान कार्यक्रमको आयोजना
रमेश हतुवाली/काठमाण्डू, २०८१ फागुन ८ गते बिहीबार । ७५ औं प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस (वीपी) ले जलपान कार्यक्रमको आयोजना गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सामाखुशी काठमाण्डूमा आज आयोजना गरिएको जलपान कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेताहरुले वर्तमान सरकार जनचाहना विपरीत सत्ता र पार्टीको स्वार्थमा लागेको बताएका छन् । उनीहरुले नेकपा एमालेको नेतृत्वमा नेपाली कांग्रेस लगायतका दलहरुबाट बनेको वर्तमान सरकार भ्रष्टाचारको कुण्डमा डुबेको, दलगत स्वार्थमा फसेको र जनचाहना विपरीतका अध्यादेशमार्फत सर्वसत्तावाद लागु गरिरहेको टप्पणी गरेका छन् ।

कार्यक्रममा बोल्नुहुँदै नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा मातृभूमिका लागि जागरण अभियानका नेता डाक्टर भिम रावलले वालुवाटारमा वसेर एमाले अध्यक्ष र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गरेको छलफल मन्त्री परिषद्ले पास गर्नु कानूनी शासन नभएको बताउनुभयो । एमाले र कांग्रेसले मुलुकमा लोकतन्त्रका नाममा जनविरोधी कार्यहरु गरिरहेको बताउनुुहँदै डा. रावलले वर्तमान सरकारका विरुद्ध वलियो संघर्षको आवश्यकता रहेको जानकारी दिनुभयो ।

पूर्वमन्त्री देवी प्रसाद ओझाले प्रजातन्त्रको वास्तविक फल जनताले प्राप्त गर्न नसकेको बताउनुभयो । राजनीतिक दलहरुले बहुदलीय प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र संघीयता लगायतका हरेक कुराहरु ल्याए पनि त्यसलाई देशले धान्न सकिरहेको छ कि छैन भनी प्रश्न गर्नुभयो । साथै ओझाले प्रजातन्त्रको सत्य र सही मर्म बुझ्न पनि आग्रह गर्नुभयो ।
देवी प्रसाद ओझा, पूर्वमन्त्री
पूर्वमन्त्री तथा राष्ट्रिय शक्ति नेपालका नेता केशर बहादुर विष्टले सत्तामा रहेका दुईवटा ठूला दल भ्रस्टाचारमा चुर्लुम्म डुबेका र जनविरोधी शासन सञ्चालनमा लागेको आरोप लगाउनु भयो । नेता विष्टले ठूला दलहरुकै कारण देशको स्वाभिमान कमजोर हुँँदै गएको जानकारी दिनुहुँदै वर्तमान व्यवस्था वदल्न नेपाली कांग्रेस (वीपी)लाई बैकल्पिक धार बनाएर लैजान सकिने पनि बताउनुभयो ।

नेपाली कांग्रेस (वीपी)का सभापति सुशिलमान शेरचनले वर्तमान सरकार लोकतान्त्रिक परिपाटीको उपहास भएको टिप्पणी गर्नुभयो । राज्य सत्ता सञ्चालनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका विचमा शक्ति संघर्ष चलिरहेको बताउनुहुँदै सभापति शेरचनले मुलुकको हित र जनताको समुन्नतीका लागि वर्तमान व्यवस्था फाल्नुको विकल्प नभएकाले नेपाली कांग्रेस वीपीले २०८२ साल बैशाख १० गतेदेखि व्यवस्था परिवर्तनका लागि देशव्यापी रुपमा संघर्ष गर्ने जानकारी दिनुभयो ।

नेपाली कांग्रेस (वीपी)का महामन्त्री देवेन्द्र प्रकाश पौडेलले राष्ट्रको जग वलियो बनाउन राष्ट्रवादी तथा देशभक्त शक्तिहरुबीच एकता अपरिहार्य रहेको जानकारी दिनुहुँदै आफ्नो पार्टीको पहलमा मात्र त्यो सम्भव हुने बताउनुभयो ।
देवेन्द्र प्रकाश पौडेल, महामन्त्री, नेपाली कांग्रेस (वीपी)
समारोहमा नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली लगायतले मुलुकमा समय समयमा भएका राजनीतिक आन्दोलनहरुको चर्चा गर्नुहुँदै ठूला दलहरुको थामी नसक्नुको स्वार्थले जनतामा व्यापक निराशा छाएको बताउनुभयो ।

