Thu. Apr 23rd, 2026

प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री र नगरप्रमुखको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार कीर्तिपुर बर्न अस्पतालमा पुगी हिजो पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनको क्रममा दुर्घटना भई उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै । तस्बिर सौजन्य पधानमन्त्रीको सचिवालय रासस

       

कीर्तिपुर (काठमाण्डू) २०८१ फागुन ४ गते आइतबार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न कीर्तिपुर वर्न अस्पतालमा पुगी त्यहाँ उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

शनिबार पोखरामा भएको आगलागीमा परेका उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुग्नुभएको हो ।

यसैबीच आजै पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार नेपालले पनि उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँहरुलाई अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्था तथा उपचार प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।

उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्य पोखरामा शनिबार एक कार्यक्रमको उद्घाटनका क्रममा भएको घटनामा परी आगो लागेर घाइते भई सो अस्पतालको सघन उपचार कक्षमा शनिबार भर्ना हुनुभएको थियो ।
यसैगरी, प्रधानमन्त्री ओलीले केही दिनअघि कमलपोखरीस्थित शानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भई उपचाररतको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिनुुभएको थियो । रासस

Facebook Comments

सम्बन्धित समाचार