Sun. Jun 21st, 2026

अधिराजकुमारी सोफीयाद्वारा भक्तपुर अस्पतालको प्रसूति सेवाबारे चासो

नेपाल भ्रमणमा रहनुभएकी संयुक्त अधिराज्य बेलायतको अधिराजकुमारी डचेस सोफी बुधबार भक्तपुर अस्पतालको प्रसूति वार्ड अवलोकनका क्रममा नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै । तस्बिरः रमेश गिरी/रासस

       

भक्तपुर, २०८१ माघ २३ गते बुधबार । नेपाल भ्रमणमा रहनुभएकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले आज भक्तपुर अस्पतालको अवलोकन गर्नुभएको छ । उहाँले भक्तपुर अस्पतालको प्रसूति कक्ष (गाइनो वार्ड) को अवलोकन गर्नुभएको हो ।

अवलोकनका क्रममा अधिराजकुमारी सोफीयाले प्रसूति सेवाबारे विस्तुत रूपमा जानकारी लिनुभएको थियो । उहाँले अस्पतालको प्रसूति कक्षमा रहेका सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था र उपचार विधिका बारेमा जानकारी दिनुभएको थियो ।

प्रसूति कक्षमा भर्ना भएका नवजात शिशुलाई बोकेर उहाँले अस्पतालले दिएको सेवा प्रशंसनीय रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । यौन दुव्र्यवहार र हिंसामा परेका महिलाका बारेमा चासो लिँदै उहाँले हिंसा पीडित महिलाको व्यवस्थापन, पारिवारिक मिलन, सामाजिक पुनःस्थापनालगायत पक्षका बारेमा छलफल गर्नुभएको थियो ।

अधिराजकुमारी सोफीयाले बिना पारिश्रमिक महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याइरहेको योगदानको प्रसंशा गर्दै मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवामा अस्पतालले दिँदै आएको सेवा र योगदानप्रति खुसी व्यक्त गर्नुभयो ।

प्रसूति सेवामा भएको विकास र अस्पतालले प्रयोगमा ल्याएको आधुनिक प्रविधि र उपकरणका बारेमा जिज्ञासा राख्नुका साथै अधिराजकुमारी सोफीयाले बेलायत सरकारको सहयोगमा निर्माण भएको नयाँ भवन र स्तरोन्नति ‘रेक्टोफिटिङ्ग’ गरिएको भवनको समेत अवलोकन गर्नुभयो ।

अवलोकनपछि छलफलका क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशका १३ वटै अस्पतालमा प्रसूति कक्षलाई आवश्यक जनशक्ति, उपकरण र भौतिक संरचनाका लागि काम भइरहेको बताउनुभयो ।

मन्त्रालयका स्वस्थ्य सचिव डा सुमित्रा गौतमले भक्तपुर अस्पताल मुलुकको नमूना अस्पताल बनाउन सफल भएको उल्लेख गर्दै प्रदेशका सबै अस्पतालको विकासमा मन्त्रालय योजनाबद्ध रूपमा लागिरहेको बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले भक्तपुर अस्पतालले भक्तपुरका मात्रै नभई पूर्वदेखिका बिरामीलाई सवा दिइरहेको बताउदै अस्पतालले एमआरआई, सिटी स्क्यान, डायलोसिस मेशिन सञ्चालनमा ल्याउन पाए बिरामीले धेरै राहत पाउने बताउनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टले सोफीयालाई अस्पतालले प्रजनन् स्वास्थ्यमा पुर्याउँदै आएको सेवा र अवस्थाका बारेमा जानकारी दिनुभयो । उहाँले यौन तथा लैङ्गिक हिंसामा परेका महिलाको स्वास्थ्य परीक्षण र उपचार गरी सुरक्षित घर (सेभहाउस) मा पठाउने, मनोपरामर्श दिने, परिवार र समाजमा पुनःस्थापना गराउनेलगायत कार्य गर्दै आएको बताउनुभयो ।

अधिराजकुमारी सोफीयले भक्तपुर अस्पतालको सेवाका बारेमा जानकारी लिँदै बिरामीसँग कुराकानी गर्नुभयो । सोफीयासँगै बेलायत राजदूतावासका स्वास्थ्य सल्लाहकार डिएगो मोरोसो, दूतावासका समन्वयकर्ता दीपक कार्कीलगायत टोलीले अस्पतालको अवलोकन गर्नुभएको अस्पताल स्रोतले जनाएको छ ।

मङ्गलबार नेपाल आउनुभएकी अधिराजकुमारी सोफीय काठमाण्डूस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जानुहुुने कार्यक्रम रहेको छ । रासस

Facebook Comments