Wed. Apr 22nd, 2026

सरस्वतीपूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति   

       

काठमाण्डू, २०८१ माघ २१ गते सोमबार । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको उल्लेख गर्नुभएको छ ।

वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विद्याकी देवी माता सरस्वतीको पूजा अर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीको रुपमा पुजिन्छ । आजको यस शुभ दिनमा आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षरारम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उहाँले उल्लेख गर्नुभएको छ । सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्तपञ्चमीलाई मानिँदै आइएको छ ।

नवीनकार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनु पर्ने विवाह, व्रतबन्ध आदिजस्ता शुभकार्यका लागि यस दिनलाई रोज्ने प्रचलन पनि रहिआएको छ ।

आजको दिनलाई सरस्वती जन्मोत्सवको रुपमा पनि मनाइन्छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशःन्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ ।

राष्ट्रपति पौडेलले यस पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गर्दै सबैमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

वसन्त पञ्चमी तथा सरस्वती पूजा२०८१ को शुभकामना सन्देश

विद्याकी देवी माता सरस्वतीको पूजा अर्चना गरी मनाइने वसन्त पञ्चमी  तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवम् विदेशमा रहनु भएका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

माता सरस्वतीलाई शिक्षा, ज्ञान र संगीतकी देवीको रुपमा पुजिन्छ । आजको यस शुभ दिनमा  आफ्ना बालबालिकाहरूलाई विद्यालय भर्ना गरेर अक्षराम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको छ । संगीतका पारखीहरूका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिदैँ आइएको छ । नवीन कार्यको प्रारम्भ गर्न चाहनेहरूले र लगनको साइत जुराउनु पर्ने विवाह, व्रतबन्ध आदि जस्ता शुभ कार्यका लागि यस दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ ।

आजको दिनलाई सरस्वती जन्मोत्सवको रुपमा पनि मनाइन्छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमश: न्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ । साथै, विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजको दिनले प्रेरणा प्रदान गर्दछ भन्ने मलाई लागेको छ ।

अन्त्यमा, वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व पनि हो । यस पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गर्दै सबै नेपालीहरूमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी पुन:हार्दिक शुभकामना  व्यक्त गर्दछु ।

जय नेपाल !

२०८१, माघ २१ गते सोमबार ।

ने.सं. ११४५ सिल्लाथ्व पञ्चमी ।

Facebook Comments