राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्यानिकुञ्जलाई
डुम्रे (तनहुँ), २०८१ माघ १३ गते आइतबार । तनहुँमा विभिन्न पालिकामा खेलकुद उत्सव चलिरहेको छ । बालबालिकाको खेलकुद प्रतिभा प्रस्फुटन र विकासका लागि पालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दै आएको छ ।
भानु नगरपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । भानु–९ काउरेटारस्थित खेलमैदान भएको प्रतियोगितामा भानु–१२ बयापानीस्थित विद्यानिकुञ्ज माध्यमिक विद्यालयले उपाधि जितेको छ । विद्यानिकुञ्जले छ स्वर्ण, एक रजत र दुई कास्य गरी नौ पदकसहित उपाधि जित्न सफल भएको हो ।
भानु–९ डुम्रीखर्कस्थित कालिका माध्यमिक विद्यालयले पाँच स्वर्ण, छ रजत र चार कास्य गरी १५ पदक प्राप्त गरी द्वितीय भएको छ भने भानु–९ बाइसजागरस्थित कर्मदा माध्यमिक विद्यालयले चार स्वर्ण, तीन रजत गरी सात पदक प्राप्त गर्दै तृतीय भएको छ ।
प्रतियोगितामा २४ विद्यालय सहभागी थिए । ३० स्वर्ण पदक रहेकामा ११ वटा विद्यालयले स्वर्ण पदक जित्न सफल भएका छन् । विद्यानिकुञ्जले रनिङ शिल्डसहित नगद पुरस्कार रु.२५ हजार, ट्रफी र प्रमाणपत्र पाएको छ । त्यसैगरी कालिकाले रु.२० हजार, ट्रफी र प्रमाणपत्र तथा कर्मदाले रु.१५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा विजेता विद्यालय तथा विद्यार्थीलाई नगर प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, भानु नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ध्रुवराज पौडेललगायतले पुस्कार प्रदान गर्नुभएको थियो ।
नगर प्रमुख त्रिपाठीले पुरस्कार प्रदान गर्दै विद्यालयस्तरीय प्रतियोगिताले बालबालिकाको खेलकुदप्रति आकर्षित गर्नुका साथै अनुशासित बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “खेलकुदको माध्यमबाट देशविदेशमा पहिचान बृद्धि गराउन समेत मद्दत पुगने भएकाले प्रोत्साहन मिल्नेछ ।” रासस

