Sun. May 31st, 2026

तत्काल संसद् अधिवेशन आह्वानको माग   

       

काठमाण्डू, २०८१ माघ २ गते बुधबार । प्रतिपक्षी राजनीतिक दलका नेताले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा आज भएको विपक्षी दलहरुको बैठकले जनसरोकारका विषय र कानुनका निर्माणबारे छलफल गर्न तत्काल संसद् अधिवेशन आह्वानको माग गरेको हो ।

“जनप्रतिनिधिको संस्थालाई छलेर सरकारले यसरी नै काम अघि बढाइरह्यो भने संसद्को विशेष अधिवेशनसमेत बोलाउन प्रयास हाम्रो समझदारी बनेको छ”, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बैठकपछि भन्नुभयो ।

संविधानअनुसार संसद् अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सङ्ख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले बैठक आह्वान गर्न सक्ने व्यवस्था छ । विशेष अधिवेशन आह्वानको प्रस्ताव राष्टपतिसमक्ष प्रस्तुत गर्न कम्तीमा ६९ सदस्यको हस्ताक्षर आवश्यक हुन्छ ।

राससका अनुसार  बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डिपी अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल आम आदमी पार्टीलगायत पार्टीका नेताहरु सहभागी हुनुुहुन्थ्यो ।

Facebook Comments