लेबनानका प्रधानमन्त्री र सिरियाली नेताबीच भेटवार्ता, ‘शरणार्थी सङ्कट’ को शीघ्र समाधान गर्न आग्रह
दमास्कस, सिरिया, २०८१ पुस २८ गते आइतबार । सिरिया भ्रमणमा रहनुभएका लेबनानका प्रधानमन्त्री नजिब मिकातीले सिरियाली नेता अहमद अल–शरासँग भेटवार्ता गर्नुभएको छ ।
शनिबार भएको पहिलो औपचारिक भ्रमणका क्रममा दुई नेताबीच लेबनानमा रहेका सिरियाली शरणार्थीलाई नयाँ सरकारसँग भेट गर्न स्वदेश फर्कन दिने उपायबारे छलफल गरेको न्युयोर्क टाइम्सले जनाएको छ ।
लेबनानी प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार मिकातीले सिरियाको राजधानी दमास्कसमा शनिबार अपराह्न सिरियाली नेता अहमद अल–शरासँग भेटवार्ता गर्नुभएको हो ।
“लेबनान र सिरियालाई एकतामा बाँध्ने दुई देशका जनताबीचको ऐतिहासिक सम्बन्ध, असल छिमेकीपन र घनिष्ठ, समान सम्बन्ध नै दुई देशबीच विद्यमान वा आवश्यक सहयोगको प्रकृतिलाई सबै तहमा नियन्त्रण गर्ने आधार हो भन्ने कुरामा हामी पुष्टि गर्दछौं,” भेटवार्तापछि मिकातीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।
गत महिना सिरियाका पूर्व राष्ट्रपति बसर अल असदको दशकौँ लामो शासनलाई अन्त्य गर्दै पदच्युत गरिएको विद्रोहको नेतृत्व गर्ने इस्लामिक समूह हयात तहरीर अल–शामको नेतृत्व अल–शाराले गर्नुभएको थियो ।
दमास्कसमा आयोजित पत्रकार सम्मेलनमा सिरियाली शरणार्थी सङ्कटको शीघ्र समाधानका लागि आग्रह गर्दै मिकातीले सन् २०११ मा सुरु भएको सिरियाली गृहयुद्धका कारण लेबनानले लिएको १० लाखभन्दा बढी शरणार्थीको समस्यालाई दुवै देशले छिटो समाधान गर्नुपर्ने बताउनुभयो ।
गृहयुद्धका कारण विस्थापितमध्ये अझै पनि धेरै सिरियाली लेबनानस्थित शरणार्थी शिविरमा रहेका छन् ।
“दुवै देशको हितमा यो मुद्दालाई जतिसक्दो चाँडो समाधान गर्नु र विस्थापितहरूलाई सिरियामा फिर्ता गर्नु आज अत्यावश्यक भएको छ,” मिकातीले भन्नुभयो, “मलाई विश्वास छ अल–शाराले यस प्रयासलाई समर्थन गर्नुहुनेछ ।”
अल–शाराले दुई नेताबीच सीमा सुरक्षालगायत ‘बाँकी मुद्दाहरू’ बारे छलफल भएको तर शरणार्थीहरूको फिर्तीबारे कुनै टिप्पणी नगरेको बताउनुभयो ।
उहाँले विभिन्न समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर अध्ययन गर्न समितिहरू गठन गरिने बताउनुभयो तर उहाँले सिरियालीहरूलाई गरिब देशको द्रुत सुधारको लागि उनीहरूको अपेक्षा कम गर्न आग्रह गर्नुभयो ।
“सिरियामा हाम्रा धेरै समस्या छन्”, अल–शाराले भन्नुभयो, “हामी ती सबै एकैचोटि समाधान गर्न सक्षम हुनेछैनौँ । हामीले तिनीहरूलाई विभाजन गर्नुपर्छ र प्रत्येकको समाधान खोज्नुपर्छ।”
एएफपीका अनुसार लेबनानको राष्ट्रपतिमा जोसेफ औन निर्वाचित भएपछि मिकातीको दमास्कस भ्रमण भएको हो । औनले अर्को हप्ता नयाँ प्रधानमन्त्री मनोनित गर्ने विषयमा छिट्टै परामर्श सुरु गर्नुहुने बताइएको छ। यसैबीच युक्रेनका विदेशमन्त्री आन्द्री सिबिहाले हालै दमास्कसमा अल–शारा, उहाँका समकक्षी असद हसन अल–शैबानी र अन्य अधिकारीसँग वार्ता गरी सिरियासँगको सम्बन्ध पुनःस्थापित गर्न इच्छा व्यक्त गर्नुभएको अलजजिराले जनाएको छ ।
सिरियाका विदेशमन्त्री असद हसन अल–शिबानीले युक्रेनसँग ‘रणनीतिक साझेदारी’ का लागि आफ्नो देशको इच्छा व्यक्त गर्दै दुवै देशका साझा अनुभव र पीडालाई उजागर गर्नुभयो । गत वर्षको डिसेम्बर ८ मा बशर अल असदको पतनपछि विदेशी (लेबनानी) उच्च पदस्थ अधिकारीद्वारा गरिएको यो सबैभन्दा महत्वपूर्ण भ्रमण हो ।