Fri. Jun 19th, 2026

अमेरिकाले जिमी कार्टरको सम्मानमा जनवरी ९ मा राष्ट्रिय शोक मनाउने   

       

वासिङ्टन, २०८१ पुस १५ गते सोमबार । अमेरिकाले जनवरी ९ लाई दिवंगत पूर्वराष्ट्रपति जिम्मी कार्टरको सम्मानमा राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जिमी कार्टरको सम्झनामा जनवरी ९ लाई राष्ट्रिय शोक दिवसको रुपमा मनाउने घोषणा गर्नुभएको हो ।

बाइडेनले ह्वाइट हाउसमा जारी गरेको घोषणामा भन्नुभएको छ, “म अमेरिकी जनतालाई त्यस दिन आ–आफ्नो पूजास्थलमा भेला हुन आह्वान गर्दछु र त्यहाँ राष्ट्रपति जेम्स अर्ल कार्टर जुनियर (जिम्मी कार्टर) को स्मृतिमा श्रद्धाञ्जलि अर्पण गर्न आह्वान गर्दछु ।”

उहाँले अगाडी थप्नुभयो, “म हाम्रो दुःखमा सहानुभूति प्रकट गर्नुहुने सम्पूर्ण विश्व समुदायलाई शोकको यस घडीमा उक्त पवित्र कार्यमा हामीसँग सामेल हुनका लागि आग्रह गर्दछु ।”

राससका अनुसार  अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार निधन भएको हो ।

वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गर्नुभएको थियो ।

कार्टर सेन्टरले सामाजिक सञ्जाल एक्समा उहाँको मृत्युबारे पुष्टि गर्दै लखेको छ, “हाम्रा संस्थापक, पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आज दिउँसो प्लेन्स, जर्जियामा निधन भयो।”

Facebook Comments