Mon. Dec 30th, 2024

स्व. सचिन स्मृति खुल्ला दौडको उपाधि बोगटीलाई   

तनहुँ, २०८१ पुस १४ गते आइतबार । रोट-याक्ट क्लब अफ दमौलीले आफ्नो संस्थापक सहसचिव स्व सचिनकुमार श्रेष्ठको स्मृतिमा आज आयोजित २२औँ स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका-३ का दिनेशसिंह बोगटीले जित्नुभएको छ ।

जिल्ला सदरमुकाम दमौलीस्थित अनशनचोकबाट छाब्दीबाराही मन्दिरसम्मको नौ किमी दूरी २९ मिनेट १६ सेकेण्डमा पार गर्दै बोगटीले उक्त उपाधि जित्नुभएको हो ।

प्रतियोगितामा नुवाकोटका सञ्जय तामाङले २९ मिनेट २१ सेकेण्डमा उक्त दूरी पूरा गरी द्वितीय र तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटका अमृत विश्वकर्माले ३० मिनेटमा सो दूरी पूरा गरी तृतीय हुनुभएको छ ।

महिलातर्फ ५५ मिनेटमा उक्त दूरी पार गर्दै दमौलीकी चेतना कटुवाल प्रथम र बाल धावकतर्फ उक्त दूरी ४५ मिनेटमा पार गर्दै दमौलीका १० वर्षीया सङ्गम रानाभाट प्रथम भएकी क्लबका अध्यक्ष रवि अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथमलाई रु १५ हजार पाँच सय, द्वितीयलाई रु १२ हजार पाँच सय र तृतीय हुनेलाई रु आठ हजार पाँच सय पुरस्कार प्रदान गरिएको छ ।

महिलातर्फ प्रथम र बाल धावकलाई जनही रु एक हजार पाँच सयसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक किरण श्रेष्ठको भनाइ छ । विगतका वर्षभन्दा यस वर्ष पुरस्कारको राशि वृद्धि गरिएको क्लबले जनाएको छ । प्रतियोगितामा एक सय ११ धावकको सहभागिता थियो ।

विगतका वर्षमा प्रशासनचोकबाट सुरु भई घाँसीकुवा पुगेर पुनः प्रशाचनचोकमा आएर दौड प्रतियोगिता सकिने गरेपनि केही वर्षयता दौडको रुट परिवर्तन गरिएको हो । छाब्दीबाराही मन्दिरको धार्मिक पर्यटन पवर्द्धनका लागि पनि दौडले सहयोग पुग्ने क्लबका अध्यक्ष अधिकारीले बताउनुभयो ।

दमौलीको अनशन चौतारीबाट सुरु भएको दौड सफासडक, पृथ्वीराजमार्ग, गल्वुबँेसी, भादगाउँ हुँदै छाब्दीबाराही मन्दिरमा पुगेर टुङ्गिएको थियो । यस पटकको प्रतियोगितामा विभागीय धावकलाई सहभागी नगराइएको क्लबले जनाएको छ ।

भारतको कोलकातामा क्लबको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका संस्थापक सहसचिव सचिनकुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गर्नुभएको थियो । उहाँले खेलकुदले अनुशासन र स्वास्थ्यमा सहयोग पुग्ने बताउनुभयो । व्यास नगरपालिकाले पनि आन्तरिक पर्यटन प्रवर्द्धन गर्न दौडलाई महत्व दिएर सहिद दिवस र नारी दिवसमा कार्यक्रम गर्दै आइरहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि छाब्दीबाराही विकास कोषका अध्यक्ष थानबहादुर थापा रहनुभएको थियो । सो अवसरमा उहाँले रोट¥याक्टको दौडले छाब्दीको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । क्लबको संस्थापक सहसचिव सचिनकुमार श्रेष्ठको स्मृतिमा क्लबले हरेक वर्ष देशव्यापी रक्तदानसँगै दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।रासस

Facebook Comments