Fri. Apr 19th, 2024

जनता भन्छन्: ‘टुँडिखेल कसको बिर्ता ? अब लिनेछ जनताले फिर्ता’

काठमाडौं, २०७६ कार्तिक २३ गते शनिवार ।

अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले खुलामञ्च र रत्नपार्क क्षेत्रलाई मानवसाङ्लो बनाएर घेरिएको छ । ‘अकुपाई टुँडिखेल अभियान’अन्तर्गत शनिबार खुलामञ्च र रत्नपार्कलाई मानवसाङ्लो बनाएर घेरिएको हो ।

पूर्वयोजना टुँडिखेल नै घेर्ने थियो, तर उल्लेख्य संख्यामा मानिसहरुको उपस्थिति नभएपछि खुलामञ्च र रत्नपार्कमात्र घेरिएको थियो ।

नागरिकस्तरबाट आयोजित यो कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, प्रदेश सांसदहरु, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा लगायत सहभागी हुनुहुन्थ्यो । सर्वसाधारणहरुले पनि यो अभियानमा साथ दिएका छन् ।

सहभागीहरुले ‘टुँडिखेल कसको विर्ता ? अब लिनेछ जनताले फिर्ता’ ‘पुर्खाको नासो जनताको हक’, ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

अनलाईन खवरका अनुसार खुलामञ्चमा भेला भएर अकुपाई टुँडिखेलको उदघाटन गरेपछि संरक्षणको सन्देश दिन मानवसाङ्लो बनाइएको थियो । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अभियन्ताहरुले सार्वजनिक सम्पत्ति संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताएका थिए ।

विश्व स्वतन्त्रता दिवसको अवसर पारेर सुरु गरिएको यो अभियानअन्तर्गत तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानका अभियन्ता आलोक तुलाधरले जानकारी दिनुभयो । टुँडिखेल नै मासिने अवस्था आएकाले ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको उहाँले बताउनु भयो ।

Facebook Comments