इरानद्वारा दूरसञ्चारको बिस्तारका लागि भारी उपकरणसहितको रकेट अन्तरिक्षमा प्रक्षेपण
तेहरान , २०८१ मंसिर २१ गते शुक्रबार । इरानले शुक्रबार आफ्नो सबैभन्दा भारी अन्तरिक्ष ‘पेलोड’ (एक उपग्रह र एउटा अन्तरिक्ष यान) लाई स्वदेशमा विकसित रकेटको प्रयोग गरी सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
सरकारी टेलिभिजनका अनुसार ३०० किलोग्राम तौल भएको उक्त पेलोडमा फखर-१ दूरसञ्चार उपग्रह र समन-१ अन्तरिक्ष यान रहेको छ ।
इरान अन्तरिक्ष अनुसन्धान केन्द्रले सन् २०१७ मा सार्वजनिक गरेको ‘समन-१’ एक ‘कक्षीय प्रसारण प्रणाली’ हो, जुन तल्लो कक्षबाट माथिल्लो कक्षमा उपग्रहहरू पुर्याउनका लागि डिजाइन गरिएको हो ।
“यो प्रक्षेपण उपग्रहलाई उच्च कक्षमा स्थानान्तरण गर्ने दिशामा महत्त्वपूर्ण कदम हो,” टिभी रिपोर्टमा भनिएको छ।
यो प्रणाली पहिलो पटक सन् २०१७ को फेब्रुअरी मा इरानका तत्कालीन राष्ट्रपति हसन रुहानीको उपस्थितिमा सुरु गरिएको थियो र सन् २०२२ मा परीक्षण सुरु गरिएको थियो ।
एएफपीका अनुसार पेलोडहरू सेम्नान प्रान्तको इमाम खोमेनी प्रक्षेपण आधारबाट घरेलु सिमोर्ग उपग्रह वाहक प्रयोग गरेर प्रक्षेपण गरिएको हो ।
एक पौराणिक इरानी चराको नामबाट नामकरण गरिएको सिमोर्ग इरानको रक्षा मन्त्रालयले विकास गरेको तरल–ईन्धन उपग्रह प्रक्षेपण वाहन हो ।
गत सेप्टेम्बरमा इरानले रिभोल्युसनरी गार्ड्सको एयरोस्पेस डिभिजनले उत्पादन गरेको गायम यानको प्रयोग गरेर चाम्रान-१ अनुसन्धान उपग्रहलाई सफलतापूर्वक कक्षमा स्थापित गरेको बताएको थियो ।
गत महिना रुसले इरानले निर्माण गरेका दुई उपग्रह कोस्वार र होधोदसहित ५५ वटा भूउपग्रह प्रक्षेपण गरेको थियो ।