प्रधानमन्त्री ओली पैचिङमा
काठमाण्डू, २०८१ मंसिर १७ गते सोमबार । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमणका क्रममा आज चीनको राजधानी पैचिङ पुग्नुभएको छ ।
उहाँलाई पैचिङ राजधानी अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन पेइतोङले स्वागत गर्नुभएको थियो । सो अवसरमा चिनियाँ सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी अर्पण पनि गरेको थियो ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली आज पैचिङ पुग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ लगायतका उच्च नेताहरुसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चिनियाँ राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष चाओ लचीको समेत भेट हुने तालिका रहेको छ ।
राससका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने छ । त्यसैगरी उहाँले पैचिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्यका साथै परराष्ट्रमन्त्री डा. आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र सञ्चारकर्मीहरू सहभागी हुनुहुन्छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका रहेको छ ।