Mon. Dec 23rd, 2024

सिरियामा भएको इजरायली हमलामा ३६ जनाको मृत्यु

दमास्कस(सिरिया), २०८१ मंसिर ६ गते बिहाबार । सिरियाको प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलाममा ३६ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

बेलायतमा आधारित युद्ध पर्यवेक्षक “सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्स” ले भने इजरायली आक्रमणमा ६१ जनाको मृत्यु भएको जनाएको छ ।

जस मध्ये ३३ जना इरानी मिलिसियासँग सम्बन्धित सिरियाली, २२ जना गैर-सिरियाली, चार जना हिजबुल्लाह र दुई जना अज्ञात थिए ।

“इजरायलले अल-तान्फ क्षेत्रको पाल्मिरा सहरका धेरै भवनहरूलाई निशाना बनाएर हवाई आक्रमण गरेको रक्षा मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो ।

सिरियाको विदेश मन्त्रालयले “पाल्मिरा सहर विरुद्धको क्रूर इजरायली आक्रमणको कडा निन्दा गर्दै यसले यस क्षेत्रका देशहरूका जनता विरुद्धको निरन्तरको अपराधलाई प्रतिबिम्बित गरेको जनाएको छ ।

युनेस्कोको विश्व सम्पदा सुचिमा समावेश स्थल पाल्मिरा सिरियाली गृहयुद्धको चरम अवस्थामा इस्लामिक राज्यका जिहादीहरूले कब्जा गरेका थिए ।

सिरियाका पुरातत्व तथा सङ्ग्रहालयका महानिर्देशक नाजिर अवादले पछिल्लो आक्रमणमा सहरका मन्दिरहरूमा प्रत्यक्ष क्षति नभएको बताउनु भएको छ । रासस

Facebook Comments