दलहरूकाे मिसन ८४ ग्रामथानकाे उप-निर्वाचनले दिने छ जवाफ
महेश भट्टराई/झोराहाट,२०८१ मंसिर ३ गते साेमबार । मंसिर १६ गते आइतबारका दिन हुने उप- निर्वाचनका लागि दलहरूले आ – आफ्ना उम्मेदवारी दर्ता गराएसँगै अब उपनिर्वाचनका लागि दलहरू जनतामाझ धमाधम आफ्ना एजेन्डा लिएर गाउँ-गाउँ ,घर-घर पुगिरहेका छन् ।
मंसिर १६ गते हुने उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १६ जनाको मनोनयन दर्ता भएको छ । पालिकामा अध्यक्षको लागि १५ राजनीतिक दल र १ स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी दर्ता गराउनेमा एमालेका तुलसीराम विश्वास, नेपाली काँग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीनकुमार विश्वास, नेकपा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरी छन् । यस्तै नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी)बाट दिलबहादुर विश्वकर्मा र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले मनोनयन दर्ता गराएका छन् । यसैगरी ग्रामथान ५ का नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका हुन ।
निवर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै उपस्थितिमा माेरङकाे नेताचाेकमा गत भदौ २९ गते माओवादी केन्द्रले एक कार्यक्रम गरि काङ्ग्रेसका नेता समेत रहेका नमाेनारायण माझी सहित कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गराइएको थियो । उक्त कार्यक्रमलाई माओवादीकै भाषामा भन्नुपर्दा ‘भव्य’ भयो । त्यही दिनदेखि प्रचण्डले आजभोलि पनि कतिपय सार्वजनिक कार्यक्रमहरूमा भन्ने गरेका छन्, ‘मोरङमा देखिएको जनलहरले ०८४ को चुनावपछि माओवादी ०६४ सालकै अवस्थामा पुग्ने मैले देखेको छु । अब हामी जनतामा फर्कियौँ । जनताले हामीलाई जिताउने छ ।’ तर, प्रचण्डले भनेको त्यो जनलहरको परीक्षा मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमै देखिने पक्का छ ।
माओवादी केन्द्रले मात्रै हाेइन एमाले ,काङ्ग्रेस , रास्वपा लगायतका दलहरूले समेत मिसन ८४ लाई रटान दिइरहेका छन् ।
त्यो ‘मिसन ८४’ परीक्षामा को सफल होला भन्ने विषयमा भने उपनिर्वाचनको परिणामबाट सामान्य आँकलन गर्न सकिन्छ ।
अझै माओवादीका लागि यो उपनिर्वाचन ‘कमब्याक’ गर्ने अवसर पनि हुनेछ । उसले भनेको सुशासन र भ्रष्टाचार विरोधी अभियानबारे जनताले पत्याएको वा नपत्याएको पनि देखिनेछ । कांग्रेस र एमाले मिलेर बनेको यो गठबन्धन सरकारप्रति जनताले कति आशा र भरोसा गरेको रहेछ भन्ने पनि उपचुनावले सामान्य संकेत दिनेछ ।
ग्रामथानकाे उप निर्वाचन माओवादीका लागि फलामको चिउरा जस्तै हुनेछ । माओवादीलाई संघीय सांसदको निर्वाचनमा माओवादी उम्मेदवार अमनलाल मोदीलाई विजय गराएर २/ २ पटक २०७४ र २०७९ मा चुनेर पठाउनु वा यहाँका जनताले पत्याउनु सहज पाटो पनि हो । मोदीले आफू विजयी भएर गरेका राम्रा नराम्रा कामको परीक्षा पनि यही उपनिर्वाचनबाट हुने देखिन्छ ।
परम्परागत रूपमा ग्रामथान गाउँपालिका नेपाली कांग्रेसको प्रभाव क्षेत्र हो । तर, ०७४ सालमा एमालेको शिवनारायण माझीले चुनाव जितेका थिए भने ७९ सालमा कांग्रेसका जयप्रकाश चौधरीले निर्वाचन जितेका थिए । चौधरीको असार ३ गते निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । स्थानीय स्थरमा र पालिका स्थरमा जस-जसकाे सरकार भएपनि संघीय क्षेत्रका बारेमा कुरा गर्ने हाे भने याे पालिका ०७४ सालदेखि ०८३ अन्त्यसम्म लगभग १० वर्ष माओवादी केन्द्रकै अधिनमा रहने देखिन्छ ।
मोदी–विश्वासमाथि माओवादीकाे भर
धार्मिक तथा सामाजिक महत्वका मठ, मन्दिर, ग्रामथान र देवालयहरूको संरक्षण, विकास र स्तरोन्नतिका हिसाबले पनि यस अवधिमा धेरै प्रगति भएको स्थानीयहरूले बताएका छन् । ग्रामथानमा जति पनि विकासका कामहरू भएका छन् तीमध्ये सबैभन्दा उपयोगी र प्रभावकारी चाहिँ घिनाघाट–विराटचोक चारलेन सडक आयोजना नै हो । जुन योजनाले प्रदेश राजधानीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने र त्यसबिचमा पर्ने ग्रामीण क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गरेको छ । पाँच वर्षअघिसम्म विराटनगरबाट विराटचोक जाने सडक जीर्ण अवस्थामा थियो । यो सडक हरेक चुनाका लागि नेताहरूले चुनाव जित्ने औजार बन्ने गरेको थियो तर सडकको दुदर्शा कसैले पनि बदल्न सकेको थिएन । जब जनताले मत बदले त्यसपछि ग्रामथानको विकासको चित्र पनि बदलेको देखिन्छ ।
नयाँ संविधान जारी भएपछि २०७४ सालमा सम्पन्न आम निवार्वचनबाट ग्रामथानसमेत रहेको मोरङको निर्वाचन क्षेत्र नम्बर ४ बाट पनि माओवादीकै अमनलाल मोदी र प्रदेश निर्वाचन क्षेत्रमा माओवादी केन्द्रकै नेता विजय विश्वास थारुले चुनाव जितेका थिए । कांंग्रेसको विरासतको रूपमा चिनिएको त्यस क्षेत्रले परिवर्तनका लागि संघर्ष गरेका दुई युवाले चुनाव जितेसँगै ग्रामथानमा विकासको लहर सुरु भएको ग्रामथान ३ का झलककुमार भगत बताउँछन् । ‘तपाईंहरुले देख्नुभएकै थियो विराटचोक जाने सडक कुन अवस्थामा थियो भनेर, तेतरियाबाट मोतिपुर जाने सडक कुन अवस्थामा थियो, यहाँका विद्यालय, खेलमैदानहरुको अवस्था एकदमै राम्रो थिएन, खोलाहरुमा वर्षौंदेखि पुल बनेका थिएनन्, विराटनगरबाट नजिकै भएर पनि यो टाढाको दुर्गम र अविकसित गाउँ थियो । तर अहिले तपाईंहरु आफैँ हेर्न सक्नुहुन्छ ६ वर्षको अवधिमा यो ठाउँ कति बदलियो भनेर, यहाँ विकासको राम्रो लहर सुरु भएको छ, यसका लागि नेकपा माओवादी केन्द्रबाट जितेका संघीय र प्रदेश सांसदहरुको ठुलो योगदान छ भनेर सबैले निःसंकोच भन्नुहुन्छ,’ भगतले भने ।
भगतको भनाइसँग ग्रामथान २ का बाबुराम मुडियारी पनि सहमत छन् । उनी समग्र ग्रामथानलाई आधार बनाएर पटक पटक चुनाव जितेर देशकै अर्थमन्त्रीसमेत भएका महेश आचार्यले आफ्नो कार्यकालमा गर्न नसकेको विकासको काम माओवादीका अमनलाल मोदी र विजय विश्वास थारुको जोडीले गरेर देखाइ दिए ।
दशकौँसम्म विकास देख्न नपाएको ग्रामथानका ती गाउँहरुमा भर्खर विकासको रुपरेखा कोरिएका मात्र हुन् । ‘अहिले पनि धेरै बस्तीहरुमा पुग्ने बाटोको स्तरोन्नति गर्न बाँकी छ, खानेपानी, स्वास्थ्य र शिक्षाको क्षेत्रमा धेरै काम गर्न बाँकी छ । तर अहिले यो क्षेत्रले जुन नेतृत्व पाएको छ त्यसले विकासका लागि पहल गर्छ भन्नेमा यहाँका नागरिकहरु विश्वस्त छन्,’ उनले भने ।
विकासका दृष्टिले पाँच वर्ष लामो अवधि होइन । यो छोटो अवधिमा त्यस क्षेत्रमा विकास भित्र्याउन माओवादी जनप्रतिनिधिहरु मोदी र विश्वासले अथक मिहेनत गरेको देखिन्छ । प्रदेश सरकार स्थापना हुनासाथ कस्ता योजनामा काम गर्ने भनेर प्रदेश सरकार अलमलिएको बेलामा प्रदेशसभा सदस्य विजय विश्वास र संघीय सांसद मोदीले नै घिनाघाट–विराटचोक सडक चारलेनमा निर्माण गर्न तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई कन्भिन्स गरेका थिए । त्यतिबेला आर्थिक मामिला तथा योजना मन्त्री माओवादीकै नेता इन्द्रबहादुर आङ्बो रहेका कारणले पनि उक्त योजना अगाडि बढाउन सहयोग पुगेको थियो । झण्डै डेढ अर्ब लगानीको उक्त योजनाले त्यस क्षेत्रको विकासमा ठुलो परिवर्तन ल्याइदिएको छ ।
२०७४ सालको बाढीले लोहोन्द्रा खोलामा आएको बाढीले त्यहाँको मोटरेबल पुल बगायो । पूर्वी मोरङसँग जोड्ने र कृषि नगरको साइफनसमेत पुलसँगै बगाइदिएका कारण ठुलो नोक्सानी भएको थियो । उक्त पुल निर्माणका लागि दुवै सांसदहरुले निरन्तर पहल गरेर ४५ करोड बजेट निकासा गराई समयमै पुल निर्माण गराउन उनीहरुले भूमिका खेलेका थिए ।
ग्रामथान गाउँपालिकामा २०७४ सालको निर्वाचनमा नेकपा एमालेले अध्यक्ष पदमा जितेको थियो भने २०७९ सालमा नेपाली कांग्रेसले जित्यो । यो ६ वर्षको अवधिमा गाउँपालिकाले पुगनपुग १० किलोमिटर सडक कालोपत्रे गरेको छ । तर संघ र प्रदेशबाट यस अवधिमा एक अरब भन्दा बढी बजेट त्यस क्षेत्रमा गएर विभिन्न विकासका कामहरू भएका छन् भने कतिपय योजनाहरु क्रमागत अवस्थामा रहेको पूर्वमन्त्रीसमेत रहेका विजयकुमार विश्वासले जानकारी दिए ।
ग्रामथानमा मोतिपुर–गिदनिया सडक ३८ करोड रुपैयाँ खर्च गरेर कालोपत्रे गरिएको छ भने दशकौँदेखि अलपत्र छोडिएको गिदनिया खोलाको पुल यसै अवधिमा निर्माण सम्पन्न भएको छ । उक्त खोलामा पुल नहुँदा रोजगारका लागि सुनसरीको दुहबी र मोरङको बुढीगंगा जाने कामदार श्रमिकहरूले लामो दुरी घुम्न बाध्य थिए ।
सामाजिक र सामुदायिक विकास तर्फ पनि यस अवधिमा निकै काम भएको पाइएको छ । ग्रामथानका ७ वटा वडाहरुमा ८ वटा सामुदायिक भवनहरू निर्माण भएका छन् । विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित मठ, मन्दिर, ग्रामथान, चर्च आदिको विकासमा समानुपातिक रूपमा योजनाहरु विनियोजन गर्न उनीहरुले पहल गरेको भन्दै स्थानीयहरूले सन्तुष्टि व्यक्त गरेका छन् । लखन्तरीको राधाकृष्ण मन्दिर, ७ नम्बर वडाको बजरंगाबली मन्दिर आदिको स्तरोन्नतिका लागि पूर्वसांसद विश्वासले बजेट व्यवस्थापन गरिदिएको स्थानीयले सम्झना गरेका छन् ।
स्थानीय रोशन माझीले भने, ‘चुनाव अघिसम्म ग्रामथानमा धेरै काम भयो, अहिले पनि कामहरू भइरहेका छन्, सबैलाई समान ढंगले योजना बाँड्ने काइदाले गर्दा माओवादीले यहाँबाट चुनावमा फाइदा पनि लिइरहेको छ ।’
अहिले नेताचोकबाट सुनसरीको खनारजाने नहरमा झण्डै १४ करोड रुपैयाँको बजेट कार्यान्वयनकै चरणमा छ । सिद्राहा, मोतिपुर र लखन्तरी खानेपानी आयोजना निर्माणाधीन रहेको सांसद अमनलाल मोदीले जानकारी दिए । मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएको बेला तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत विनियोजन भएको एक अर्ब रुपैयाँ मध्ये करिब ३० करोड रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममार्फत खर्च गरेका थिए । सोही कारणले तत्कालीन समयमा विपक्षी दलले संसदमा उनको विरोधसमेत गरेको थियो । यस अवधिमा ग्रामथानको वडा नम्बर ३ र ७ मा दुईवटा खेलमैदान निर्माण भएको छ । मोतिपुर र कोरियाडाँगीको मर्चनीयामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीयलाई आवतजावत गर्न सहज भएको छ । भूमिहीन सुकुम्बासीका लागि नमुना बस्ती, जनता आवास, बजरंगबली सिमसार संरक्षण आदि थुप्रै पूर्वाधार विकासका कामहरू ग्रामथानमा भएका छन् ।
यस क्षेत्रका शक्तिशाली दलहरू काङ्ग्रेस र एमालेले नगरेको काम याे क्षेत्रमा आफ्नो पार्टीले छाेटाे समयमा गरेको माओवादी केन्द्रकाे दाबी छ भने काङ्ग्रेस र एमाले माओवादी केन्द्रकाे भनाइ स्वीकार गर्न तयार देखिदैंनन ।
ग्रामथानमा विगतको मत परिणाम
निर्वाचन आयोगले गरेको अद्यावधिक विवरण अनुसार ग्रामथान गाउँपालिकामा मंसिर १६ गते हुने निर्वाचनमा मतदान गर्ने मतदाताको संख्या २७ हजार ४३९ जना रहेको छ । २०७९ सालको निर्वाचनमा उक्त पालिकाको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६०५ मत ल्याएर विजयी हुँदा, एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मत मात्रै ल्याएका थिए ।
पालिकाको ७ वटा वडामध्ये एमालेले ५, कांग्रेसले १ र माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेका छन् । वडाध्यक्षको मत जोड्दा उक्त पालिकामा कांग्रेसको ५ हजार ५३७, एमालेको ६ हजार ७६३ र माओवादी केन्द्रको २ हजार ६६५ मत रहेको छ । त्यसबेला १ नम्बर वडामा स्वतन्त्र उम्मेदवार बनेका नमोनारायण माझीको मत जोड्ने हो भने माओवादीको मत ३ हजार २१९ पुग्ने देखिन्छ । २०७४ सालको निर्वाचनमा भने उक्त पालिकामा एमाले विजयी बनेको थियो । त्यसबेला एमालेका शिवनारायण माझी थारुले ४ हजार ७२० मत ल्याउँदा मधेशी जनअधिकार फोरम, नेपाल ९ लोकतान्त्रिक०का जयप्रकाश गच्छदार थारुले ४ हजार ६६१ र कांग्रेसको कृष्णकुमार सरदार थारुले ३ हजार १४३ मत पाएका थिए । त्यसबेला माओवादी केन्द्रका उम्मेदवार रमेशकुमार भगतले भने १ हजार ६०२ मत मात्रै ल्याएका थिए ।