Mon. Dec 23rd, 2024

बालुवाटारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना सांसदसहित १७ जना नेता-कार्यकर्ता पक्राउ

काठमाण्डू, २०८१ कात्तिक १३ गते मंगलबार । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा विरोध प्रदर्शनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका १७ जना नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

सहकारी संस्था ठगीमा मुछिएका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा  निषेधित क्षेत्रमा प्रदर्शन गरेका उनीहरूलाई आज मध्यान्ह १२ बजे बालुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रास्वपा एकजना सांसदसहित १७ जना नेता-कार्यकर्ता रहेका छन् ।

पक्राउ पर्नेहरूमा सांसद अशोक चौधरी, वीरेन्द्र श्रेष्ठ, प्रदीप बिष्ट, सुरेश पोख्रेल, ध्रुब ढकाल, नवराज भण्डारी, प्रकाश लामिछाने, रक्षा रायमाझी, साहिल प्रयास रहनुभएको छ । यसैगरी सबि खड्का, बुद्धरत्न महर्जन, दयाराम नेपाल, सुरेन्द्रराज अवाले, शैलेन्द्र खत्री, उमेश लामा, खुसीराम कैनी र नवराज मुडभरी रहनुभएको रास्वपाले जनाएको छ ।

निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै ती नेता कार्यकर्तालाई प्रहरीले प्रदर्शनअघि नै पक्राउ गरेको  हो । बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टअगाडिबाट सांसद अशोककुमार चौधरीसहित कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तर शान्तिपूर्ण रूपमा छलफल गर्दै गर्दा सांसद सहित नेता कार्यकर्ता समातिएको रास्वपाले जनाएको छ ।

लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेर अहिले कास्की प्रहरीको हिरासतमा राखेको छ । दोस्रो पटक म्याद थपिएका उहाँलाई रिहा गर्न मागसहित रास्वपाले पोखरा र काठमाडौं प्रदर्शन गरिरहेको छ । रास्वपाको आन्दोलनको नेतृत्व उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले गर्नुभएको छ ।

Facebook Comments