Tue. May 14th, 2024

सङ्खुवासभामा पहिरोमा फसेकाको उद्धारमा खटिएका व्यक्तिकै मृत्यु

काठमाडौं, २०७७ असार २८ गते आईतबार

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१, बेसिन्दाको पहिरोमा फसेकाहरूको उद्धारमा खटिएको अवस्थामा २५ वर्षीय मदन राईको मृत्यु भएको छ ।

बेसिन्दामा पहिरोले नाै घर बगाएको स्थानमा फसेका स्थानीयलाई उद्धार गर्ने क्रममा बेहोस हुनुभएका राईको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयको सूचना समन्वय शाखाका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभएको छ ।

आइतबार बिहान २ बजे झरेको पहिरोमा फस्नुभएकामध्ये ७९ वर्षीय गोवासिंह राई, उहाँकी श्रीमती ६० वर्षीया फूलमाया राई, छोरी १४ वर्षीया भीमसरी राई र ५५ वर्षीय भीमबहादुर राईसहित पाँच जनाको उद्धार गरिएको थियो । उहाँहरूमध्ये गोवासिंह र भीमबहादुरको घर पहिरोले पूरै बगाएको हो । पहिरोले घर बगाए पनि अर्का स्थानीय जुद्धबहादुर राई गोठमा गएको कारण जीवित रहनुभएको छ ।

पहिरामा परेर गोवासिंहको बायाँ हात र टाउकामा ढुङ्गाले गहिरो चोट लागेकोले अवस्था गम्भीर रहेको प्रदेश प्रहरीले जनाएको छ । फूलमाया, भीमसरी र भीमबहादुर सामान्य घाइते हुनुहुन्छ ।
यसैगरी, बेपत्ता हुनेहरूमा राममान राई, उहाँकी श्रीमती ५५ वर्षीया हस्तकुमारी राई र छोरीहरू २१ वर्षीया उन्जीला राई र ११ वर्षीया नम्रता राई हालसम्म हुनुहुन्छ । प्रदेश प्रहरीका अनुसार २१ वर्षीया एन्जीला राई गर्भवती हुनुहुन्थ्यो ।

स्थानीय जुद्धबहादुर राई गोठमा गएको बेला आएको पहिरोले उहाँकी श्रीमती ६५ वर्षीया गोरीमाया राई र छोरी २२ वर्षीया प्रकृति राई बेपत्ता रहनुभएको छ । अर्का ५२ वर्षीय जुद्धबहादुर राई (माने), उहाँकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई पनि बेपत्ता हुनुभएको छ । त्यस्तै, ७० वर्षीया नजमाया राईसमेत बेपत्ता हुनुहुन्छ ।

यसैगरी, ८४ वर्षीय हर्कराज र उहाँकी श्रीमती ८२ की आइतमाया राई, सन्दीप राई र सुभधन राई अहिलेसम्म सम्पर्कमा नभएको प्रहरीले बताएको छ । बेपत्ता भएकाहरूको सबैको घर पहिरोले पूरै बगाएको छ । घटनास्थलमा ताम्कु र सिसुवाटार प्रहरी चौकीको टोलि ११ बजे पुगेर उद्धारको काममा खटिएको छ । यसैगरी, सिलिचोङका स्वास्थ्य प्रमुख दीपेन्द्र राईसहित दुई जनाको टोलीसमेत घटनास्थलमा पुगिसकेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments