Wed. Dec 25th, 2024

डडेल्धुरा बस दुर्घटनाका मृतकको संख्या पाँच जना पुग्यो, घाइते १२ जनालाई उपचारका लागि धनगढी पठाइयो

डडेल्धुरा,२०८१ असोज ३० गते बुधबार ।  डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्युहुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो ।

बैतडीको पुर्चौंडी नगरपालिका-१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभयो । उहाँका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीका लागि छुटेको पवनदूत यातायातको ना८ख १०७८ नम्बरको बस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो ।

राससका अनुसार  दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको पनि यसअघि नै सनाखत भइसकेको छ । पुर्चौंडी-३ बस्ने ४५ वर्षीय जैमती बोहरा, दुई दिनका शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको पनि घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो । दुर्घटनामा अन्य ११ जना पनि घाइते छन् । बस सडकबाट झन्डै तीन सय मिटर खसेर पोखरा-बेलापुर सडकमा परेको छ । दुर्घटनाका कारण भने खुल्न सकेको छैन । दुर्घटनामा परी अन्य पनि बेपत्ता भएको आशङ्कामा प्रहरीले खोजी जारी राखेको छ । स्थानीय सर्वसाधारण र प्रहरी खोजतलास जारी राखेका छन् । दुर्घटनाग्रस्त बस क्षतविक्षत भएको छ ।

Facebook Comments