Mon. May 20th, 2024

म्याग्दीका विभिन्न स्थानमा बाढी पहिरोबाट ११ जनाको मृत्यु, २२ जना बेपत्ता

काठमाडौं, २०७७ असार २६ गते शुक्रबार

 म्याग्दी जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोबाट ११ जनाको मृत्यु भएको छ, २२ जना पहिरोमा परी सम्पर्कविहीन भएका छन् । पहिराेका कारण ३५ वटा घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

धौलागिरी गाउँपालिका-७ ताकममा पहिरोमा परी दुई जना, मालिका गाउँपालिका-७ बिममा आठ जना र रघुगङ्गा गाउँपालिका-६ ठाडाखानीमा एक जना गरी ११ जनाको मृत्यु भएको छ । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका-६ मराङमा पहिरोका कारणले २१ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । त्यसैगरी मङ्गला गाउँपालिका र मालिका गाउँपालिकाको सीमानामा रहेको दुखु खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । उहाँका अनुसार धौलागिरी गाउँपालिका मराङमा २० घर, ताकममा पाँच घर, मालिका गाउँपालिका-७ बिममा १० घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी किरणजङ्ग कुँवरका अनुसार घटनास्थलतर्फ प्रहरी टोली परिचालन भएको भएपनि पूर्ण विवरण भने आइसकेको छैन । त्यस्तै बेनी-जोमसोम सडक खण्डको गलेश्वरस्थित राहुघाट नदिमाथिको बेलीब्रिज राहुघाट नदीको कटानले पूर्णरुपमा क्षतिग्रस्त भएको प्रजिअ ढकालले बताउनुभयो । ढकालका अनुसार सबै क्षेत्रम सुरक्षाकर्मी परिचालन गरिएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments