Sat. Oct 12th, 2024

काठमाण्डू उपत्यकाबाट १४ लाख मानिस बाहिरिए

भिओके समाचार/काठमाण्डू, २०८१ असोज २५ गते शुक्रबार । नेपालीहरुको महान चाड बडादशैं मनाउन काठमाण्डू उपत्यकाबाट झण्डै १४ लाख मानिसहरु बाहिरीएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज शुक्रबार दिउसो सम्ममा झण्डै १३ लाख मानिसहरुले काठमाण्डू उपत्यका छाडेको बताए पनि एक हप्ताभित्रमा निजी सवारी साधनबाट बाहिरीनेहरुको संख्या १४ लाख भन्दा बढिरहेको अनुमान छ ।

यसैगरी आज साँझ सम्ममा झण्डै ५० हजार मानिसहरुले काठमाण्डू उपत्यका छाड्ने आंकलन गरिएको छ । यस वर्ष लगभग १८ देखि १९ लाख मानिसहरु दशैं मान्न काठमाण्डू उपत्यकाबाट बाहिरिने अनुमान गरिएको भए पनि यहि असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण काठमाण्डू उपत्यकालाई पूर्वी तराईसँग जोड्ने विपी राजमार्गमा बाढी पहिरोका कारण ठूलो क्षती भएकोले सो राजमार्गबाट बाहिरीनेहरुको संख्या अत्यन्त न्यून रहेको छ ।

बडादशैंको मुख्य दिन भोलि बिजया दशमीको पूर्वसन्ध्यामा काठमाण्डू उपत्यकाका अधिकांश सडकहरु लगभग सुनसान जस्तै देखिएका छन् भने केही सडकहरुमा पातलो संख्यामा सवारी साधनहरु सञ्चालन भएका छन् ।

काठमाण्डूको माइतीघर, थापाथली, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्जचोक, बसुन्धरा, नयाँ बसपार्क, बुढानिलकण्ठ, चावहिल, गौशाला, कलंकी र कोटेश्वर लगायतका क्षेत्रमा विगतको तुलनामा अत्यन्त न्यून रुपमा सवारी साधनहरु सञ्चालन भएका हाम्रा सम्वाददाताहरुले बताएका छन् ।

Facebook Comments