Wed. Oct 9th, 2024

पोखरामा दशैँका लागि ल्याइएका भेडा/च्याङग्राको अनुगमन

कास्की,२०८१ असोज २२ गते मंगलबार । दशैँ तिहारका लागि भनेर पोखरामा बिक्रीका लागि ल्याइएका भेडा/च्याङ्ग्राको अनुगमन गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र पोखरा महानगर पशु सेवा शाखाले संयुक्त रुपमा अनुगमन तथा भेडा/च्याङग्राको स्वास्थ्य जाँच गरेका हुन् ।

पोखरा महानगरपालिका–१ जौवारीमा दशैँका लागि हिमाली जिल्ला मुस्ताङ, डोल्पा तथा सुदुरपश्चिमका मुगु, दार्चुला र बझाङबाट भेडा/च्याङग्रा ल्याइएको छ ।

पशु चिकित्सक सहितको प्राविधिक टोलीले नमूनाका रुपमा च्याङग्राको परीक्षण गरेको थियो । परीक्षण गरिएको भेडा र च्याङ्ग्रा खानका लागि स्वस्थ र योग्य पाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेले बताउनुभयो ।

“सुरुआतमै रोग लागे नलागेको स्वास्थ्य परीक्षण गरेर मात्र बिक्रीका लागि आउने ल्याउने गरिएको छ । मुृस्ताङ र म्याग्दीमा समेत परीक्षण गरेर पोखरा ल्याइन्छ । बाटोमा सामान्य चोटपटक लागेको हुन सक्छन् । अन्य समस्या देखिएको छैन ।” पाण्डेले भन्नुभयो ।

पोखरामा यस वर्ष १५ हजारको हाराहारीमा भेडा च्याङ्ग्रा बिक्रीका लागि व्यापारीले विभिन्न स्थानबाट ल्याउने अनुमान गरिएको कार्यालय प्रमुख पाण्डेले भन्नुभयो । अहिले कतिपय व्यापारीले हिँडाएरनै पोखरामा ल्याउँदै गरेको बताइन्छ ।

उहाँले भन्नुभयो,“पोखरामा मुस्ताङ र डोल्पा बाहेकबाट पनि गाडी र स्थलमार्गबाट च्याङ्ग्रा ल्याउने गरिएको छ । जिल्ला स्थित भेटेरिनरी अस्पतालहरुले दिएको जानकारी अनुसार यस वर्ष पोखरामा १५ हजार भेडा च्याङ्ग्रा आउने जानकारी आएको छ ।” पोखरा महानगर पशु शाखाका प्रमुख डा. अषेशराज विकले पोखरामा ल्याइने गरेका भेडा/च्याङ्ग्रा स्वस्थ रहेकाले निर्धक्क भएर उपयोग गर्न सकिने बताउनुभयो ।

पोखरामा दशैँका समयमा हिमाली क्षेत्रबाट ल्याइएको च्याङ्ग्राको मासु लोकप्रिय मानिन्छ । चिसो हावापानीमा हुर्किएका र जडीवुटी समेत खाएका कारण मासु स्वादिष्ट र स्वास्थ्यवर्दक मानिने विकले बताउनुभयो ।

पोखरामा वर्षौँदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाट च्याङग्रा तथा भेडा ल्याउने गरिएको छ । यस बाहेक दशैँमा खसी तथा बोकाको समेत राम्रो बिक्री वितरण हुने गर्दछ । रासस

Facebook Comments