Tue. Oct 8th, 2024

बङ्गलादेशमा सुधारअघि चुनाव हुँदैन– युनुस   

मुहम्मद युनुस

ढाका, २०८१ असोज २२ गते मंगलबार । बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले चुनावका लागि मिति तय गर्न अस्वीकार गर्दै चुनावअघि सुधार आवश्यक रहेको बताउनुभएको छ ।

गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहको परिणामस्वरूप पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरी नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसलाई बङ्गलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त गरिएको थियो ।

कार्यवाहक सरकारको नेतृत्व गरिरहनुभएका युनुसले प्रथम आलो अखबारले प्रकाशित गरेको अन्तर्वार्तामा आफूमध्ये कसैको पनि लामो समयसम्म सरकारमा बस्ने लक्ष्य नभएको बताउनुभयो ।

“सुधारहरू महत्त्वपूर्ण छन्, तपाईँ भन्नुहुन्छ, चुनाव गर, हामी चुनाव गर्न तयार छौँ तर सुधारअघि पहिले चुनाव गर्नु गलत हुनेछ”, उहाँले भन्नुभयो ।

हसिनाको १५ वर्षेको शासनकालमा विरोधीहरूको सामूहिक नजरबन्द र गैरन्यायिक हत्यासहित व्यापक मानवअधिकार हनन भएको थियो ।

हसिना सत्ताबाट हट्नुअघि सातामा छ सयभन्दा बढी मानिस आन्दोलनमा मारिएको राष्ट्रसङ्घीय प्रारम्भिक प्रतिवेदनले जनाएको थियो । प्रतिवेदनमा सम्भवतः उक्त सङ्ख्या कम थियो भनिएको छ ।

एएफपीका अनुसार हसिना सरकारले अदालत र निजामती सेवाको राजनीतिकरणसहित शक्तिको दुरुपयोग गरी लोकतान्त्रिक पद्धतिलाई ध्वस्त पार्न एकतर्फी चुनाव गरेको आरोप पनि लगाइएको थियो ।

युनुसले सार्वजनिक प्रशासनको विरासत पूर्ण रूपमा बिग्रिएको बताउँदै यसलाई भविष्यमा निरङ्कुशतामा फर्कनबाट रोक्न व्यापक सुधारको आवश्यकता रहेको उल्लेख गर्नुभयो । सुधारको अर्थ विगतमा जे भयो त्यसलाई नदोहोरÞ्याई आवाश्यक सुधार गर्ने रहेको उहाँको भनाइ थियो ।

युनसले हसिनाको सरकार अपदस्थ भएपछि हत्याको आरोपमा पक्राउ परेका धेरै राजनीतिज्ञ र वरिष्ठ अधिकारीहरूको बारेमा गरिएको आलोचनालाई पनि खारेज गर्नुभएको छ ।

यी गिरफ्तारीहरूले युनुसको कार्यवाहक सरकारले हसिनाको शासनका वरिष्ठ व्यक्तिहरूमाथि राजनीतिक मुद्दा चलाउने आरोप लगाएको छ ।

यद्यपि युनुसले पक्राउ परेका व्यक्तिहरू विरुद्ध सुरु गरिएको कुनै पनि आपराधिक मुद्दा सरकारी हस्तक्षेपबाट मुक्त रहने अभिप्राय पटकपटक व्यक्त गर्दै आउनुभएको छ । साथै उहाँले न्यायिक प्रणालीमा सुधार भएपछि मुद्दा अगाडि बढ्ने बताउनुभएको छ ।

Facebook Comments