Mon. Oct 7th, 2024

च्याङ्ग्राका बथानले राजमार्ग भरियो

काठमाण्डू, २०८१ असोज २१ गते सोमबार । यति बेला बागलुङ-पोखरा राजमार्गको ठाउँ-ठाउँमा सयौँ च्याङ्ग्राका बथानले सडकनै अवरुद्ध पार्ने गरेका छन् ।

काला, खैरा र केही सेता रङका च्याङ्गा हुल बाँधेर हिँड्दा राजमार्गमा हिड्ने सवारी साधान एकै छिन रोकिएर हेर्छन् । सलक्क मिलेका च्याङ्ग्रा देख्दा पनि निकै आकर्षित हुन्छन् । व्यापारीले ति च्याङ्ग्रा हिमाल पारीको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रबाट खरिद गरेर ल्याएका हुन् । म्याग्दी, बागलुङ, पर्वत हुुँदै पोखरा पु¥याइने च्याङ्ग्रा ठाउँ–ठाउँमा उपभोक्ताले किन्ने गर्छन् ।

राससका अनुसार दसैँका बेला मुस्ताङका च्याङ्ग्राको माग निकै बढ्ने गर्छ । यस वर्ष पनि असोज पहिलो सातादेखिनै मुस्ताङबाट व्यापारीले च्याङ्ग्रा खरिद गरि बजार ल्याइरहेका छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्राको मासु स्वादिष्ट र स्वस्थकर मानिन्छ । गत वर्ष असाध्यै बढेको च्याङ्ग्राको भाउ यस वर्ष भने केही सस्तिएको छ । भाउ सस्तिएपछि उपभोगक्ताको माग उस्तै बढेको छ । हिमाली च्याङ्ग्रा खरिद गरि वर्षौँदेखि विभिन्न जिल्लाका व्यापारीले बेच्दै आएका छन् । यही पेसाबाट उनीहरुले आफ्नो परिवार चलाउँदै आएका छन् ।

च्याङ्ग्राका बथानले मालढुङ्गा, बागलुङ, कुश्मा, लुम्ले, काँडे, हेम्जा लगायतका क्षेत्रमा सडक जामनै गराउने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब १० देखि १२ हजार रुपैयाँले च्याङ्ग्राको मूल्य घटेको छ । पोहोर साल झण्डै ६० हजार पुगेको च्याङ्ग्राको मूल्य अहिले ३५ देखि ४५ हजारसम्ममा पाइने गरेको छ ।

च्याङ्ग्रा व्यापारीले माथिल्लो मुस्ताङदेखि हप्तौँ दिन लगाएर पोखरा लगायतका सहरमा पुग्ने गरेका छन् । हिमालको काखमा किसानले पालेको च्याङ्ग्रा व्यापारीले गोठमै पुगेर सस्तोमै खरिद गर्ने र बजार पुर्याएर नाफा कमाउने गरेको पाइन्छ ।

Facebook Comments