Thu. Apr 18th, 2024

शैलेश थापा नयाँ आईजीपी नियुक्त

फाइल तस्बिर

काठमाडौं, २०७७ असार २३ गते मंगलबार

शैलेश थापा क्षत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो ।

आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अनिवार्य अवकाश लिँदै छन्। २८औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई पछि पार्दै थापा आईजीपी बनेका हुन् ।

यस पटकको आईजीपी नियुक्तिमा विगतमा जस्तो कुनै विवाद र हानथाप थिएन। क्षत्री र पाल दुवै जना २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्। दुईमध्ये जो नेतृत्वमा पुगे पनि मिलेर काम गर्ने समझदारी उनीहरुबीच थियो ।

क्षत्रीले डीआईजी हुँदा प्रहरी केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व गरेका थिए। एआईजी भइसकेपछि उनी मानव स्रोतसाधन र प्रशासन विभागको नेतृत्वमा थिए ।

क्षत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख भएर काम गरेका थिए। त्यसपछि क्रमशः सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख भए।  नयाँ आईजीपीका लागि प्रमुख चुनौती भनेको संगठनको खस्किँदै गएको साख जोगाउनु हो। अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments