Fri. Apr 19th, 2024

सरिता गिरी सांसद र पार्टी सदस्य दुवै पदबाट बर्खास्त

काठमाडौं, २०७७ असार २३ गते मंगलबार

समाजवादी पार्टीका सांसद सरिता गिरीलाई पार्टीले कारबाही गरेको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उहाँलाई सांसद र पार्टीबाट बर्खास्त गरेको छ । पार्टीका महासचिव रामसहाय यादवका अनुसार पार्टीले उहाँलाई सांसदबाट बर्खास्त गर्नुको साथै पार्टीको साधारण सदस्यबाट पनि निस्काशन गरेको छ ।

सांसद गिरीको कारबाहीको बारेमा गठन भएको कार्यदलले उहाँलाई कारबाही गर्न गरेका सिफारिस अनुसार कारबाही भएको बताइएको छ । नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्न संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता लिन उहाँले संसद सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको थियो ।

प्रस्ताव दर्ता गराएकै दिन उहाँलाई सो पत्र फिर्ता लिन पार्टीले निर्देशन दिएको थियो । प्रस्ताव फिर्ता नलिए कारबाही गर्न बाध्य हुने पनि पत्रमा उल्लेख थियो तर सांसद गिरीले आफ्नो प्रस्ताव फिर्ता लिनुभएन । उल्टै उहाँले संविधान संशोधनका लागि भएको चुनावमा समेत अनुपस्थिति देखाउनुभएको थियो ।

त्यसपछि पार्टीले उहाँलाई सात दिनभित्र आफ्नो स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो । गिरीले असार १८ गते आफ्नो स्पष्टीकरण बुझाउनुभएको थियो तर उहाँको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीका लागि सिफारिश गरेको थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments