Sat. Oct 5th, 2024

भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई   

काठमाण्डू, २०८१ असोज १९ गते शनिबार । यस वर्षको भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मीप्रसाद भट्टराई (लक्ष्मण गाम्नागे) लाई प्रदान गरिएको छ ।

भैरव पुरस्कार गुठीले आज यहाँस्थित जोरपाटीमा आयोजना गरेको पुरस्कार अर्पण कार्यक्रममा उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि नगद रु एक लाख ११ हजार १११ रहेको छ । सोही कार्यक्रममा भैरव वाङ्मय पुरस्कार कोशकार एवं नेपाली भाषा साहित्यको शुद्धीकरण अभियानी चूडामणि गौतमलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि पनि नगद रु एक लाख एक हजार १११ रहेको छ ।

यसैगरी, रु ५१ हजार १११ राशिको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिएको छ । पुरस्कृत व्यक्तित्वका बारेमा क्रमशः प्राडा रामप्रसाद ज्ञवाली, साहित्यकार ज्ञाननिष्ठ ज्ञवाली र मेनका पोखरेलले प्रकाश पार्नुभएको थियो । पुरस्कृत व्यक्तित्वत्रय गाम्नागे, गौतम र गिरीले नेपाली हास्य व्यङ्ग्य साहित्यमा भैरव अर्यालको योगदानबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री एवं संविधानसभा सदस्य रामेश्वर फुयाँलले साहित्यकारले समाजमा भएको वास्तविकतालाई ऐनाका रूपमा देखाउनुपर्ने बताउनुभयो । काठमाडौँको उत्तरपूर्वी भेग साहित्यको उर्वर भूमि भएकाले यहाँ धेरै साहित्यिक क्रियाकलाप हुने गरेको उहाँले सुनाउनुभयो ।

वरिष्ठ पत्रकार विजय चालिसेले हास्य व्यङ्ग्य साहित्यमा भैरव अर्यालको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । आफूलाई साहित्य क्षेत्रमा अघि बढाउन पनि अर्यालको योगदान रहेको चालिसेले चर्चा गर्नुभयो ।
कार्यक्रममा गुठीका अध्यक्ष रोचक घिमिरे, सचिव वसन्त रिजाललगायतले संस्थाले प्रत्येक वर्ष हास्य व्यङ्ग्य साहित्य र कला क्षेत्रमा योगदान गर्नेलाई भैरव अर्यालका नामको पुरस्कार वितरण गर्ने गरिएको जानकारी गराउनुभएको थियो ।

Facebook Comments