Fri. Apr 26th, 2024

नेपालमा ४२.७ प्रतिशत सङ्क्रमित कोरोनामुक्त भए

काठमाडौं, २०७७ असार २२ गते सोमबार

पछिल्लो चौबिस घण्टामा नेपालमा २६४ जना बिरामी कोरोनाभाइरसबाट मुक्त भई घर फर्केका छन् । हालसम्म नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित छ हजार ८११ जना सङ्क्रमणमुक्त भई घर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी सङ्क्रमित पुष्टि भएको प्रदेश २ मा नै सबैभन्दा बढी बिरामी सङ्क्रमणमुक्त भएका छन् । प्रदेश २ मा चार हजार १८४ जना सङ्क्रमित पुष्टि भएकोमा २०७२ जना कोरोनामुक्त भएका छन् । हाल प्रदेश २ का आठ जिल्लामा दुई हजार ११२ जनामा कोरोनाभाइरसका सक्रिय बिरामी छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म ४२.७ प्रतिशत कोरोना सङ्क्रमित सङ्क्रमण मुक्त भएर घर फर्केका छन् । आइसोलेसनमा नौ हजार ११८ जना भर्ना भई उपचारार्थ छन् । प्रदेश १ मा ७१० जना सङ्क्रमित पुष्टि भएकोमा ४६९ जना कोरोनामुक्त भई घर फर्केका छन् । वाग्मती प्रदेशमा हालसम्म ६३९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । २३४ जना कोरोनामुक्त भई घर फर्केका छन् । वाग्मती प्रदेशमा ४०५ जना बिरामीमा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय छ ।

गण्डकी प्रदेशमा हालसम्म एक हजार १७५ जना सङ्क्रमितको पुष्टि भएको छ, २९५ जना कोरोनामुक्त भएका छन् र ८८० जना कोरोनाभाइरसका बिरामीमा सङ्क्रमण सक्रिय छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश ५ मा तीन हजार ९८४ जना कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको छ । जसमध्ये एक हजार ८५७ जना कोरोनामुक्त भएका छन् । प्रदेश ५ मा दुई हजार १२७ जनामा भाइरसको सङ्क्रमण अझै सक्रिय छ ।

कर्णाली प्रदेशमा हालसम्म एक हजार ५८१ जनामा कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएकोमा एक हजार २२२ जना मुक्त भई घर फर्केका छन् । ३५९ जना बिरामीमा मात्रै कोरोनाभाइरसको सङ्क्रमण सक्रिय छ । कोरोनाभाइरसका सङ्क्रमण सक्रिय रहेको बिरामीको सङ्ख्या सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा छन् । भारतमा कार्यरत रही लकडाउनको बेला दैनिक सयौँको सङ्ख्यामा नेपाली स्वदेश फर्केका थिए । सुदूरपश्चिम प्रदेशमा हालसम्म तीन हजार ६९१ जनामा सङ्क्रमणको पुष्टि भएको छ । ६६२ जना कोरोनाबाट मुक्त भई घर फर्केका छन् भने ३०३२ जना अझै आइसोलेसनमा छन् । गोरखापत्र अनलाईनबाट

Facebook Comments