Sat. Apr 20th, 2024

रामबहादुर बम्जनसहित तीन जनाविरुद्ध बाल यौन शोषणको मुद्दा

काठमाडौं, २०७७ असार १९ गते शुक्रबार

लिटल बुद्ध भनिने रामबहादुर बम्जनलगायत तीन जनालाई प्रतिवादी बनाई सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीले बम्जनलगायत तीनविरुद्ध अदालतमा बिहीबार बाल यौन शोषणकाे अभियाेगमा मुद्दा दायर गरेको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार रामबहादुर बम्जन भनिने रामलाल बम्जन, सर्लाहीको पत्थरकोटस्थित बोधी मार्ग दर्शन आश्रमका प्रमुख तोक्तेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जीतबहादुर तामाङविरुद्ध मुद्दा दायर भएको हो ।

मुद्दामा बालबालिकासम्बन्धी ऐन अनुसार प्रतिवादीहरूलाई कारबाहीको माग गरिएको छ । बालबालिकासम्बन्धी ऐन अनुसार मुख्य प्रतिवादी रामबहादुर बम्जनविरुद्ध १२ देखि १४ वर्ष कैद र क्षतिपूर्ति माग दावी गरिएको जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सहायक न्यायाधिवक्ता युवराज शर्माले बताउनुभयो ।

बम्जनविरुद्ध सर्लाहीको लालबन्दी नगरपालिका-१३, पत्थरकोटस्थित आश्रममा एक १८ वर्षीया बालिकालाई यौन शौषण गरेको आरोप छ । सोही आरोपमा गत माघ महिनामा पीडितको तर्फबाट सर्लाही प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि प्रहरीले सर्लाही, सिन्धुलीलगायत आश्रममा बम्जनको खोजी गरे पनि उनी फेला परेनन् । बम्जन पक्राउ नपरेपछि प्रहरीले केही दिन पहिले अनुसन्धान प्रतिवेदनसहितको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो ।

सरकारी वकिल कार्यालयमार्फत बम्जनविरुद्ध बिहीबार अदालतमा मुद्दा दर्ता भएको हो । अब प्रतिवादी बम्जन ३५ दिनभित्र अदालतमा उपस्थित हुन सक्नेछन् । त्यस अवधिमा उनी आफैँ अदालतमा उपस्थित नभए पक्राउ पूर्जी जारी हुनेछ । गोरखापत्र अनलाईनबाट

Facebook Comments