Tue. Oct 1st, 2024

चीनद्वारा ‘लेबनानको सार्वभौमसत्तामा हस्तक्षेप’ को विरोध   

पैचिङ, २०८१ असोज १५ गते मंगलबार । इजरायलले लेबनानमा स्थल आक्रमण सुरु गरेको बताएपछि चीनले मङ्गलबार ‘लेबनानको सार्वभौमसत्ताको उल्लङ्घन’ को विरोध गर्ने बताएको छ । साथै बेइजिङले बढ्दो तनावप्रति ‘अत्यधिक चिन्तित’ रहेको बताएको छ ।

इजरायली सेनाले मङ्गलबार दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दै स्थल आक्रमण सुरु गरेको बतायो । यसले सयौँ मानिसहरूको ज्यान लिएको एक साताको तीव्र हवाई आक्रमणपछि द्वन्द्वलाई अझ बढाएको छ ।

यद्यपि लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति सेनाले इजरायली कारबाही ‘स्थलगत घुसपैठ’ नभएको बताएको छ भने इरान समर्थित हिजबुल्लाहले कुनै पनि सैनिकले सीमा पार गरेको कुरालाई अस्वीकार गरेको छ ।

एएफपीका अनुसार  क्षेत्रीय टकरावलाई रोक्न अन्तर्राष्ट्रिय आह्वानका बाबजुद इजरायलले दक्षिण बेरुत, दमास्कस र गाजालाई लक्षित गरेको बेला यी दाबीहरूलाई तत्काल प्रमाणित गर्ने कुनै उपाय थिएन ।

“चीन लेबनान र इजरायलबीच विद्यमान अवस्थाबारे अत्यन्त चिन्तत छ र सम्बन्धित सैन्य कारबाहीका कारण क्षेत्रीय तनाव अझ बढ्नेबारे चिन्तित छ”, चिनियाँ विदेश मन्त्रालयले मङ्गलबार एक वक्तव्यमा भन्यो, “चीन लेबनानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लङ्घनको विरोध गर्दछ र द्वन्द्वलाई बढाउने तथा क्षेत्रीय स्थितिलाई थप उत्तेजित पार्ने यस्ता कार्यको विरोध गर्दछ ।”

बेइजिङले वक्तव्यमा इजरायलसँग ‘परिस्थितिलाई शान्त पार्नका लागि ठोस कदम चाल्न’ आग्रह गरेको छ ।

इजरायलले लेबनानबाट सेना फिर्ता गर्नुपर्छ– रुस 

यसैबीच रुसले इजरायललाई दक्षिणी लेबनानबाट आफ्ना सेना ‘तत्काल’ फिर्ता गर्न आग्रह गरेको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाह लडाकूहरू विरुद्ध ‘स्थल आक्रमण’ सुरु गरेको बताएपछि रुसले उक्त आग्रह गरेको हो ।

इजरायलले लेबनानमा एक साताको तीव्र हवाई आक्रमण गरेपछि स्थल आक्रमण गर्ने घोषणा गरेको थियो । हवाई आक्रमणमा सयौँ मानिस मारिएका थिए भने हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको पनि मृत्यु भएको थियो । क्रेमलिनले यी सैन्य कारबाहीहरूको पनि निन्दा गरेको छ ।

“रुस लेबनानमाथिको आक्रमणको कडा निन्दा गर्दछ । इजरायली अधिकारीहरूलाई तत्काल युद्धविराम गर्न, लेबनानी क्षेत्रबाट आफ्ना सैनिकलाई फिर्ता गर्न र मध्यपूर्वमा द्वन्द्व समाधान गर्न शान्तिपूर्ण उपायहरूको वास्तविक खोजीमा संलग्न हुन आह्वान गर्दछ”, रुसी विदेश मन्त्रालयले एक वक्तव्यमा भनेको छ, “हामी सशस्त्र आक्रमणको शिकार भएको मित्र राष्ट्र लेबनानको नेतृत्व र जनतासँग ऐक्यबद्धता व्यक्त गर्दछौँ ।”

Facebook Comments