Fri. Apr 26th, 2024

नेतृत्वले पार्टीलाई जोगाउने पहल गर्नुपर्छ: मन्त्री भट्टराई

काठमाडौं, २०७७ असार १७ गते बुधबार

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पार्टी सङ्कटमा भएका बेला नेताहरूको एकताबद्धताले मात्र पार्टी सुदृढ हुनसक्ने बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान पार्टीका स्थायी कमिटी सदस्य तथा मन्त्रीहरूलाई बालुवाटारमा बोलाएर छलफल गर्नुभएपछि मन्त्री भट्टराईको यो सुझाव आएको हो । केही पत्रकारसमक्ष बुधबार आफ्नो संक्षिप्त धारणा राख्नुहुँदै मन्त्री भट्टराईले पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले सबैभन्दा बढी पहल अध्यक्ष ओलीले लिनुपर्ने र बाँकी जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य वरिष्ठ नेता र अन्य नेताहरूले लिनुपर्ने सुझाव दिनुभयो ।

“अब पार्टी एकताबाट कोही भाग्न सक्दैन, भागेर कहीँ पुगिँदैन, दुर्घटना मात्र हुन्छ” मन्त्री भट्टराईले भन्नुभयो, “नयाँ जगमा पार्टीलाई एकताबद्ध बनाउनुप-यो, नेताबीच हार्दिकता बढाउनुप-यो । पार्टी र सरकारबीच समन्वयात्मक भावना जागृत गरी सरकारले पार्टीलाई सहयोग गर्नुपर्यो, पार्टीले सरकारको अपनत्व लिनुपर्यो ।” नेतालाई मानसम्मान र प्रतिष्ठा दिँदै अब सकुशल पार्टी युवामा हस्तान्तरण गर्नुपर्ने सुझाव पनि मन्त्री भट्टराईले दिनुभयो । सानातिना समस्या समाधान गर्न नसक्ने हो भने गम्भीर प्रश्न उठ्ने भन्दै आफूले बालुवाटारमा प्रधानमन्त्रीलाई त्यही सुझाव दिएको उहाँले प्रष्ट पार्नुभयो ।

पार्टी र नेताबीच घनिष्ट सम्बन्ध नहुँदासम्म यस्ता समस्या आइराख्ने बताउँदै मन्त्री भट्टराईले भन्नुभयो, “पार्टीमा विश्वास र एकता कायम भयो भने यस्ता झिनामसिना समस्या त्यसै समाप्त भएर जान्छन्, एकताबाहेक अन्त जाने बाटो छैन ।” आउने पुल भत्काइसक्यो, अगाडि जाने बाटो बन्द छ भन्दै उहाँले अगाडि बढ्ने बाटो बनाउँदै जानुको विकल्प नरहेको प्रष्ट पार्नुभयो । “नेताहरूले एकपल्ट आफ्नो इतिहास पढ्नुपर्छ, कुन जगमा कसरी यो अवस्थामा आइपुगियो । त्यसरी गर्दा समस्याको समाधान निस्किन्छ ।”  मन्त्री भट्टराईले भन्नुभयो । पार्टी एकता सुदृढ भएर अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments