Sun. Sep 29th, 2024

‘पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट’   

लेखनाथ (कास्की), २०८१ असोज १३ गते आइबार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट भएको बताउनुभएको छ । पदयात्रा गर्न विदेशी पर्यटकलाई आकर्षित गर्न आवश्यक भएको उहाँले बताउनुभयो ।

नेपाल पर्वतारोहण सङ्घअन्तर्गत अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराद्वारा ४५औँ विश्व पर्यटन दिवसका अवसरमा शनिबार यहाँ आयोजित रुसी नागरिक युरी रोडिचेभद्वारा खिचिएका हिमालहरुको फोटो प्रदर्शनी एवं पुस्तक सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले हिमाली क्षेत्रको महत्व विश्वभर प्रचारप्रसार गर्न जरुरी भएको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनकै कारण नेपालका हिम शृङ्खलामा हिउँ पग्लिने क्रम बढिरहेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको असरलाई कम गरी हिमालहरुको संरक्षण गर्नतर्फ सरकार र पर्यटन सम्बद्ध संस्थाहरुले ध्यान दिन जरुरी भएको बताउनुभयो ।

पर्यटकीय राजधानी पोखराको पर्यटन विकासमा प्रदेश सरकारले विशेष ध्यान दिएको भन्दै मुख्यमन्त्री पाण्डेले पर्यटनबाट नै गण्डकी प्रदेशको समृद्धि सम्भव हुने बताउनुभयो । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको विकास र प्रवद्र्धनमा आफूले सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । “अधिकाशं विदेशी पर्यटक हिमाली क्षेत्रको पदयात्राकै लागि नेपाल आउने गरेकाले यहाँको पदमार्गको प्रचारप्रसार विदेशमा गर्न जरुरी छ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

राससका अनुसार   रुसी नागरिक रोडिचेभले २१ वर्षको समय खर्चिएर नेपालका हिमाली क्षेत्रको तस्बिर खिचेर रुसका विभिन्न ठाउँमा प्रदर्शन गरी त्यहाँका आठ करोड जनतालाई नेपालका हिमालहरुका बारेमा जानकारी दिएकामा मुख्यमन्त्री पाण्डेले उहाँको प्रशंसा गर्नुभयो । नेपालका हिमालहरुको महत्व नेपालीले भन्दा पनि विदेशीहरुले बुझेको उल्लेख गर्दै उहाँले हिमालहरुको विदेशमा प्रचार गरी बढीभन्दा बढी पर्यटक नेपाल ल्याउन जरुरी भएको बताउनुभयो ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश संस्कृति र प्रकृतिले धनी भएकाले यहाँ पर्यटनका सम्भावनाहरु प्रशस्त रहेको बताउनुभयो । गण्डकी प्रदेश नेपालकै उत्कृष्ट पर्यटकीयस्थल भएकाले प्रदेश सरकारले पर्यटनलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले विविधताको धनी गण्डकी प्रदेशको पर्यटन विकासमा सङ्घ र प्रदेश सरकारले ध्यान दिन जरुरी भएको बताउनुभयो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले जलवायु परिवर्तनको असरकै कारण हिमालहरुमा हिउँ पग्लन थालेको र त्यसलाई कसरी कम गराउन सकिन्छ भन्ने बारेमा सोच्ने बेला आएको बताउनुभयो । कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका संस्थापक हरिध्वज तुलाचनले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

रुसी नागरिक रोडिचेभले आफूले हिमालका चित्र खिच्दा निकै दुःख पाएको र अहिले ती तस्बिर हेर्दा खुसी लागेको बताउनुभयो । चौरासी वर्षीय रोडिचेभले २१ वर्षको समयावधिमा ३२ पटक नेपाल आएर नेपालका हिमालहरुको तस्बिर खिच्नुभएको थियो । उहाँका १४० हिमालका चित्र पुस्तक र फोटो यहाँ सङ्ग्रहालयमा प्रदर्शनीमा राखिएका छन् ।

Facebook Comments