Thu. Apr 25th, 2024

प्रधानमन्त्री ओलीको राजीनामाबारे के भन्छन् दलका नेता ?

काठमाडौं, २०७७ असार १७ गते बुधबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शैली र कार्यशैली नै नराम्रो भएको भन्दै मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले नेकपाले प्राप्त गरेको जनमत ऐतिहासिक भएको भन्दै सो जनमतअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका हुन्। उनले भने,‘नेकपाले प्राप्त गरेको यो जनमत  सायद अरुले प्राप्त गरेको छ। प्रदेश सरकारको कुरा गर्दापनि ७ वटामध्ये ६ वटामा नेकपाको सरकार छ। जनताले यो भन्दा बढि समर्थन कसैलाई दिन सक्दैनन्। म प्रश्न गर्न चाहन्छु जनताले कतिसम्म समर्थन गर्यो भने यो सरकारले काम गर्ने हो?’

आफ्नो पार्टीले प्रधानमन्त्री ओलीले राम्रोसँग नेतृत्व गर्न नसकेको भनेर यसअघि नै निश्कर्ष निकालेको पनि उनले स्मरण गराए। उनले भने,‘हामीले पहिल्यै नै यो निश्कर्ष निकालेका हौं। केपी ओलीभन्दा योग्य मान्छे नेकपाभित्र को छ? ल्याउनुहोस्। हामी सरकारमा जाने र बनाउने हैसियत पनि छैन्। उहाँको कार्यशैली ठिक भएन्। आज ओली मात्रै असफल होईन, संसदीय व्यवस्था पनि असफल हुन्छ। त्यही भएर प्रधानमन्त्री फेर्नुहोस भनेको हो।’पौडेलले नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको कार्यशैली र योग्यताको बारेमा प्रश्न पहिल्यै उठाईसकेको सुनाए। उनले थपे,‘कांग्रेस ५ वर्षको लागि सरकारमा जाँदैन्। हामीलाई यो म्याण्डेट प्राप्त छैन्। नेकपाले नै हो सरकार चलाउने। देउवाले सत्तामा जाने चेष्टा गर्नुभयो भने उहाँले पार्टीबाट समर्थन पाउनुहुन्न’उनले भने ‘अब हामी सडक आन्दोलनको कार्यक्रम ल्याउँछौं। आन्दोलनको कुनै विकल्प छैन्। प्रधानमन्त्री हुने भनेको जिम्मेवार व्यक्ति हो। उहाँमा अहंकार देखियो। कसैलाई पनि नमान्ने र सम्झौता नगर्ने प्रवृत्ति देखियो। यसले राष्ट्रले दुःख पाउँछ। उहाँका अभिव्यक्ति जसरी आए, उहाँकै पार्टीबाटपनि उहाँले समर्थन प्राप्त गर्न सक्नुहुन्न।’

भारत र चीन नेपालका मित्रराष्ट्र भएको उल्लेख गर्दै द्धिपक्षीय सम्बन्धमा देखिएका समस्या आपसमा बसेर मिलाउन जरुरी रहेको पनि उनले स्पष्ट पारे। उनले केपी ओली प्रधानमन्त्री रहेसम्म सिमा विवाद समाधानको लागि भारतसँग वार्ता नै नहुने ठोकुवा गरे। उनले भने,‘उहाँले संसदमा बोल्दा दुई घण्टा बोल्नुभयो, बेसार विज्ञ बन्नुभयो। उहाँको शैली र कार्यशैली जुन छ, त्यसले सबैको अपमान गरेको छ। आधारभुत आवश्यकत्तापनि उहाँले गुमाउन थाल्नुभयो।’

जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले नेकपाको सरकारलाई आफूहरुले संविधान संशोधन गर्ने शर्तमा सुरुमा समर्थन गरेको तर सहमति पालना नभएकोले समर्थन फिर्ता ल्याएको स्पष्ट पारे। आफूहरुसँग भएका र गरिएका सहमतिहरु आजसम्म पूरा नभएको उनले गुनासो पोखे।

नेता कर्णले वर्तमान सरकारको बारेमा जनतालाई अनुभुति नभएको पनि गुनासो पोखे। उनले वर्तमान सरकार समग्र क्षेत्रमा असफल भएको दाबी गरे। उनले भने, ‘जनतालाई यो सरकारप्रति कुनै अनुभुति छैन्। काठमाडौंमा दैनिक सरकारको विरोधमा प्रदर्शन भैरहेका छन्। राज्य सञ्चालनको विषयमा नेतृत्वमा बसेकाहरुले सोच्नुपर्छ कि पर्दैन्।’ नेपाल र भारतबीच सिमा विवाद रहेको उल्लेख गर्दै यसको समाधानको लागि एउटामात्रै विकल्प वार्ता भनेर स्वयम प्रधानमन्त्री ओलीले संसदमा बोलेको कुरा पनि उनले स्मरण गराए।

उनले भारत र चीन दुवैसँग नेपालले सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले सुरुदेखि नै सन्तुलित सम्बन्ध बिगारेको आरोप लगाए। उनले भने, ‘प्रधानमन्त्रीले संसदमा चीनबाट आएको भाईरस नरम र भारतबाट आएको भाइरस कडा भनेर भन्नुभयो। चीनबाट कोरोना भाइरस फैलिएको हो। उत्पत्ति भएको देशमा नै कोरोना भाइरस नरम र भारतको भाइरसको कडा भन्नुभयो। चीनबाटै यो भाईरस संसारभरि फैलिएको हो। प्रधानमन्त्रीजस्तो व्यक्तिले जे मनमा लाग्यो, त्यही बोलिदिने ? कि त्यसको वैज्ञानिक कारण हुनुपर्छ।’

त्यस्तै, प्रधानमन्त्री ओलीले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन थाल्यो भनेर दिएको अभिव्यक्तिप्रति उनले टिप्पणी गरे। उनले भने,‘उहाँको अभिव्यक्तिले सम्पूर्ण रुपमा पार्लियामेन्टको बेईज्जत भएको छ। अपमान हो। हाम्रो संविधानले प्रधानमन्त्रीको जन्म पार्लियामेन्टबाट हुन्छ भनेको छ। उहाँको जन्म पनि यही संसदले दिएको हो। यो संसदले नहटाईकन भारतले हटाईदिन्छ भनेर उहाँले बोलेर ठूलो अपमान गर्नुभयो। संसद निरीह छ भनेर बोल्न पाईन्छ? संविधानमा त्यस्तो व्यवस्था छ? हाम्रो संसद के बेकारको संसद हो? यस किसिमको अभिव्यक्तिले के देखाउँछ के भारतसँग वार्ता हुन्छ? जग्गा फिर्ता लिन वार्ताबाहेक अन्य विकल्प छैन्। अन्य विकल्प छ भने देखाउनुपर्छ।’

वैवाहिक अंगीकृतको सम्बन्धमा रहेको आजसम्मको व्यवस्थालाई झिनो बहुमतको दम्भमा हटाईएको उनको गुनासो छ। उनले भने,‘समितिमा ११ र १५ को आधारबाट निकालियो, यस किसिमबाट राष्ट्रिय सहमति हुन्छ? आज विरोध भैरहेको छ। संवैधानिक व्यवस्था र कानूनी व्यवस्थालाई कुल्चिएर नागरिकताको प्रावधानमा वैवाहिक अंगीकृतलाई किन ७ वर्षको सारियो। भारतमा पनि ७ वर्ष राखिएको छ, त्यही भएर राखेको भन्नेपनि सुनियो। बुहारीको चिन्ता गरियो भनेर भ्रम फैलाईयो। १९५० को सन्धि बदर गरोस न त। होईन भने यो प्रावधान लागु हुन्छ। सरकारको विरोधमा विरोध र प्रदर्शन भैरहेको छ। अनि प्रधानमन्त्री बसिरहन बस्न मिल्छ। बुहमत राखे बस्नुहुन्छ, नराखे हट्नुहुन्छ। हाम्रो औकात प्रधानमन्त्री बन्ने र बनाउने पनि छैन्। सोसल मिडियामा उहाँको विरोध भैरहेको छ। पार्टीभित्र सार्मथ्य भए उहाँलाई हटाउन सक्नुहुन्छ। ५१ कायम भएन भने उहाँ हट्नुपर्छ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कर्णबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्ने भन्ने कुरा नै असान्दर्भिक भएको स्पष्ट पारेका छन्। उनले भने,‘यो राष्टका निम्ति, पार्टीका निम्ति र नेपाली जनताका निम्ति असान्दर्भिक छ। र, अहिले हामीले अवलम्बन गर्दै आएको लोकतान्त्रिक गणतन्त्र, र त्यो लोकतान्त्रिक गणतन्त्रलाई व्यवस्थित् गर्ने हाम्रो संवैधानिक व्यवस्था छ। यो कुनैपनि चिजसँग अहिलेको राजीनामा सान्दर्भिक छैन्।’

थापाले आफूहरु विधिको शासनमा रहेको र संविधानको सर्वोच्चता मान्दै आएको सुनाए। २०१५ सालमा विपी कोइरालाको नेतृत्वमा दुई तिहाईको सरकार बनेको स्मरण गराउँदै उनले नेपाली जनताले अहिले केपी शर्मा ओलीको नेतृत्वलाई झण्डै दुई तिहाई बहुमत दिएको स्पष्ट पारे। उनले जुन दलले ऐतिहासिक बहुमत प्राप्त गर्छ त्यो दललाई अन्य दलभन्दापनि आफ्नै दलभित्रबाट सरकारलाई असहयोग हुने गरेको पनि ईतिहास सुनाए।

‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहना पूरा गर्नेगरि अघि बढ्नुपर्नेमा उनको जोड छ। उनले अहिले एकले अर्कोलाई खुट्टा तान्ने काम गर्न नहुने जिकिर गरे। उनले नेकपाभित्रबाटै ओलीको राजीनामा मागिनु असान्दर्भिक भएको स्पष्ट पारे। उनले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने नेकपा नेतृत्वलाई प्रश्न गरे,‘के राजीनामा भनेको यस्तै खेलवाड हो? राजनीति भनेको प्रश्न खडा गर्नेमात्रै हो र? कि समस्या समाधान गर्ने ढंगले सोच्ने हो?’

थापाले ओलीको राजीनामा मागिनुलाई शतप्रतिशत गलतको संज्ञा दिँदै त्यो नेपाली जनमतमाथिको अपमान भएको पनि टिप्पणी गरे। अहिले नेपाली कांग्रेसलाई आफूले दोष नदिने भन्दै बरु उसले देखाएको लोकतान्त्रिक चरित्र र राम्रो र असल प्रतिपक्षी भएकोले उनले धन्यवाद भने।

थापाले वर्तमान प्रधानमन्त्री ओलीको विकल्प अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल हुनै नसक्ने जिकिर गरे। उनले भने,‘पहिलो पुस्ताले जे जति गरे, अब केपी ओलीपछि मैले जे जति नाम अहिले उच्चारण गरें। अब यी नामले नेतृत्व गर्न सक्दैनन्। नेकपामा अब ४० देखि ६० वर्षको दोस्रो पुस्ता छ, अब यही पुस्ताले देश चलाउने नेतृत्व र क्षमता राख्छ। म आज सार्वजनिक रुपमा दोहोर्‍याएर भन्दैछु अब नेकपामा हाम्रो पुस्ताले हस्तक्षेप गर्छ।’उनले वर्तमान प्रधानमन्त्री ओली पार्टीको कुनै मोर्चामा अल्पमतमा नरहेको दाबी गरे। उनले भने,‘उहाँ अल्पमतमा हुनुहुन्छ भनेर हल्ला गरिएको छ। म चूनौति दिन्छु यही स्थायी कमिटी बैठकमा निर्णय गर्नुहोस न त। किन हल्ला गर्नुहुन्छ? अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments