Sat. Sep 28th, 2024

नेपालको विकास र समृद्धिप्रति चीन खुसी छः चिनियाँ राजदूत चेन  

काठमाण्डू, २०८१ असोज ११ गते शुक्रबार । नेपालका लागि चीनका राजदूत चेन सङले नेपालको विकास र समृद्धि देखेर चीन खुसी रहेको बताउनुभएको छ । यहाँस्थित चिनियाँ दूतावासले आज आयोजना गरेको जनवादी गणतन्त्र चीनको स्थापनाको ७५औँ वार्षिकोत्सव समारोहमा उहाँले आफूहरु सधै बलियो र स्वतन्त्र नेपालको पक्षमा रहेको उल्लेख गर्दै यसबाट दुवै देशका जनताको साझा हित हुने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाल र चीन हिमाल र नदिले जोडिएका छन्, दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आफ्नो मूल हितका विषयमा एक अर्कालाई निरन्तर सहयोग गर्दै आएका छन् ।”

उहाँले नेपालका सडकमा चिनियाँ विद्युतीय कारहरू दौडिरहेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले ‘भाइब्रेन्ट भिलेज’ परियोजनामार्फत नेपालमा गरिएको अर्ग्यानिक तरकारी कतारमा निर्यात गरिएको, सुनकोशी मरिन डाइभर्सन सुरुङ सफलतापूर्वक सम्पन्नले आफूलाई खुसी बनाएको बताउनुभयो ।

राससका अनुसार  राजदुत चेनले चिनियाँ शैलीको आधुनिकीकरणको वास्तविकतालाई उजागर गर्दै चीनमा एक लाख ६० हजार किलोमिटर रेलमार्गको सपना साकार भएको उल्लेख गर्नुभयो । उहाँले नयाँ युगको प्रारम्भदेखि हालसम्म चीनले गरिबीविरुद्धको ऐतिहासिक लडाई जितेको समेत स्मरण गर्नुभयो ।

उहाँले चिनियाँ अन्वेषकहरूको अन्वेषणप्रतिको समर्पणकै कारण चिनियाँ अन्तरिक्ष स्टेसनलाई अन्तरिक्षमा यात्रा गर्न प्रेरित गरेको बताउनुभयो । चिनियाँ कम्युनिष्ट पार्टीले विगत ७५ वर्षमा प्रमुख चुनौती, जोखिम, अवरोध र अन्तरविरोधबाट चिनियाँ जनतालाई मार्गदर्शन गरेको उल्लेख गर्दै उहाँले यसले चीनको सुरक्षा र विकासको स्थिरताका साथै प्रतिस्पर्धात्मकता, विकास र दिगोपनमा पनि निरन्तर सुधार गरेको धारणा व्यक्त गर्नुंभयो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, विभिन्न दलका नेताहरु, सांसद, विभिन्न मुलुकका राजदूत, उच्च सुरक्षा अधिकृत, व्यावसायिक, विभिन्न क्षेत्र विज्ञ, सञ्चाकर्मीलगायतको उपस्थिति थियो । सो अवसरमा नेपाल र चीनका संस्कृतिसँग सम्बन्धित नृत्य समेत प्रस्तुत गरिएको थियो ।

Facebook Comments