Fri. Sep 27th, 2024

प्रधानमन्त्री ओलीसँग चीनका विदेशमन्त्री वाङको शिष्टाचार भेट   

न्युयोर्क (अमेरिका), २०८१ असोज १० गते बिहीबार । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका विदेशमन्त्री वाङ यीले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आज शिष्टाचार भेट गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको स्थापना हुनुभन्दा अगाडिदेखि नेपाल–चीन सम्बन्ध कायम भएको बताउँदै प्राचीन ऋषिमुनी र बौद्धमार्गीहरूले जनस्तरमा समेत सम्बन्ध विस्तार गरेको स्मरण गर्नुभयो ।

विदेशमन्त्री वाङ चीनको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिँदै हुनुहुन्छ ।

नेपालको समृद्धि र विकासका लागि चिनियाँ सहयोग महत्त्वपूर्ण हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा थप सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

राससका अनुसार  चीनका विदेशमन्त्री वाङले नेपाल–चीनको पुरानो छिमेकी भएकाले आपसी सहकार्यलाई बढाउँदै नेपालको समृद्धिको यात्रामा सक्दो सघाउन चीन तयार रहेको बताउनुभयो ।

न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी हुनुुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीले विभिन्न मित्रराष्ट्रका सरकार प्रमुख तथा अन्तर्राष्ट्रिय निकायका प्रमुख र प्रतिनिधिसँग भेटवार्ता गरिरहनुभएको छ । प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार आजै साँझ महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments