Fri. Sep 27th, 2024

मेक्सिकोमा गोली लागि ११ जना बन्दूकधारीको मृत्यु   

मेक्सिको सिटी, २०८१ असोज १० गते बिहीबार । मेक्सिकोको उत्तरपूर्वी क्षेत्रमा बुधबार सुरक्षा फौजको कारबाहीमा ११ जना बन्दुकधारीको मृत्यु भएको छ ।

नुएभो लियोन राज्य सरकारले एक विज्ञप्ति जारी गर्दै भनेको छ, सुरक्षाकर्मीले एक सशस्त्र समूहलाई पछ्याउने क्रममा उनीहरूले गोली चलाएपछि भएको झडपमा ११ जना बन्दूकधारीको गोली लागी मृत्यु भएको छ भने एक जनालाई सुरक्षा नियन्त्रणमा लिइएको छ । सुरक्षाकर्मीले उक्त सशस्त्र समूहबाट हतियार र सवारी साधन जफत गरेको छ ।”

कमाण्ड पोस्टमा आक्रमण भएपछि हवाई र स्थलमार्गबाट खोजी सुरु गरिएको र सुरक्षा फौजतर्फ कुनै हताहती भएको छैन ।

एएफपीका अनुसार सुरक्षाकर्मीले करिब आठवटा पिकअप ट्रकमा यात्रा गरिरहेका बन्दुकधारीलाई लखेट्ने क्रममा लस रामोनेस नगरपालिकामा गोली हानाहान भएको थियो ।

हिरासतमा लिइएका संदिग्ध व्यक्ति राजमार्गमा छद्म भेषमा हतियार र सामरिक उपकरण बोकेर हिँडेका थिए ।

मेक्सिकोमा सुरक्षा बल र संदिग्ध कार्टेल सदस्यहरूबीच भिडन्त हुने गरेको छ।

सन् २००६ देखि अहिलेसम्म ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोमा चार लाख ५० हजारभन्दा बढी मानिसको सशस्त्र झडपमा मृत्यु भइसकेको छ।

देशको सबैभन्दा शक्तिशाली र हिंस्रक लागूऔषध गिरोहमध्येको एक उत्तरपश्चिमी राज्य सिनालोआमा लागु औषधको ओसारपसार गर्ने समूहमा आन्तरिक कलहका कारण यो महिना दर्जनौं व्यक्तिको मृत्यु भएको छ ।

गत जुलाईको अन्त्यतिर सिनालोआ लागु औषत्र कारोबार गर्ने संस्थाका सहसंस्थापक इस्माइल ‘एल मायो’ जाम्बाडालाई अमेरिकी भूमिमा अचानक पक्राउ गरिएपछि यो हिंसा भएको हो ।

निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले सामाजिक कार्यक्रममार्फत गरिबी र असमानतासँग जुझ्दै हिंसात्मक अपराधसँग जुध्न ‘हग्स नट बुलेट्स’ रणनीतिको वकालत गरिरहेका समय पछिल्लो झडप र मृत्यु भएको हो ।

Facebook Comments