Mon. Sep 23rd, 2024

श्रीलङ्का राष्ट्रपति निर्वाचन : मार्क्सवादी नेता दिसानायका निर्वाचित   

कोलम्बो, २०८१ असोज ६ गते आइतबार । श्रीलङ्काको निर्वाचन आयोगले आइतबार पूर्वमार्क्सवादी राजनीतिज्ञ अनुरा कुमारा दिसानायका लाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी हुनुभएको आयोगले जनाएको छ ।

विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहनुभयो ।

सन् २०२२ को आर्थिक पतनको चरम अवस्थामा पदभार सम्हाल्नुभएका र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागु गर्नुभएका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा रहनुभयो ।

एएफपीका अनुसार विक्रमासिङ्घेले अहिलेसम्म पराजय स्वीकार गर्नुभएको छैन तर विदेशमन्त्री अली साब्रीले दिसानायका विजयी हुनुभएको स्पष्ट भएको बताउनुभयो ।

“मैले राष्ट्रपति रनिल विक्रमासिङ्घेका लागि धेरै प्रचार गरे पनि श्रीलङ्काका जनताले आफ्नो निर्णय गरिसकेका छन् । म अनुरा कुमारा दिसानायकाका लागिल प्राप्त जनादेशलाई पूर्ण रूपमा सम्मान गर्छु”, साब्रीले सामाजिक सञ्जालमा भन्नुभयो ।

दिसानायकाले सोमबार बिहान कोलम्बोको औपनिवेशिक कालको राष्ट्रपति सचिवालयमा सपथ लिनुहुने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।

Facebook Comments