Sat. Sep 21st, 2024

कर्णाली प्रदेशका स्थानिय पत्रकारहरूलाई द्वन्द्व–संवेदनशील पत्रकारिता सम्बन्धी प्रशिक्षण

- मिडिया एक्शन नेपाल

काठमाण्डू, २०८१ असोज ५ गते शनिबार । मिडिया एक्सन नेपालले हालै कर्णाली प्रदेशका तिनवटा जिल्लामा द्वन्द्व-संवेदनशील पत्रकारिता सम्बन्धी दुई दिने तालिम कार्यशालाको सम्पन्न गरेको छ ।

जसमा नौ वटा जिल्लाका ६० जना स्थानिय तहका पत्रकारहरुलाई समावेश गरिएको थियो । कार्यशाला सम्पन्न भएका प्रत्येक जिल्लामा २० जना पत्रकारहरुलाई समावेश गरिएको थियो । चौरजहारी, रुकुम पश्चिम मा सेप्टेम्बर ११–१२, वीरेन्द्रनगर, सुर्खेतमा सेप्टेम्बर १३–१४, र खलंगा, जुम्लामा १५–१६ सेप्टेम्बरमा सम्पन्न तालिम सत्रले स्थानीय पत्रकारहरुको द्वन्द्व-संवेदनशील पत्रकारिता सम्बन्धी रिपोर्टिङको सीप र पत्रकारहरुको क्षमता अभिवृद्घि गर्न मद्दत पुर्याएको सहभागीहरुले बताएका छन् ।

कार्यशालामा सुर्खेत, दैलेख, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, सल्यान, जुम्ला, मुगु, कालिकोट जिल्लाका २५ जना महिला पत्रकारहरुको समेत सहभागिता रहेको थियो । सत्रहरू द्वन्द्व–संवेदनशीलता, जातिय तथा धार्मिक विविधता, साँस्कृतिक, धार्मिक तथा सामाजिक संवेदनशीलतालाई बुझेर समाजमा विकृति फैलन नदिन सामाजिक संवेदनशीलतालाइ बुझ्न र सम्बेदनशिल भएर पत्रकारले रिर्पोटिङ गर्नुपर्ने, तथ्यमा आधारित सत्य रिर्पोटिङ्ग गर्नुपर्ने, पूर्वाग्रह र पक्षपातपन हटाउनुपर्ने, दिगो शान्ति र सामाजिक न्याय प्रवद्र्धन गर्नुपर्ने, पत्रकारले व्यक्तिगत सुरक्षामा ध्यान दिनुपर्ने जस्ता विषयमा केन्द्रित रहेर कार्यशालाको आयोजना गरिएको थियो ।

तालिम पाठ्यक्रम

यो तालिमको तालिम पाठ्यक्रम मिडिया एक्शन नेपालद्वारा विकसित गरिएको द्वन्द्व -संवेदनशील पत्रकारिता हाते पुस्तकमा आधारित भएर निमार्ण गरिएको हो । जसले एक व्यापक प्रशिक्षण पाठ्यक्रमको रूपमा काम गर्दछ । प्रत्येक तालिम कार्यशालालाई छ वटा विशेषीकृत क्षेत्रहरूमा संरचित गरिएको छ, जसले पत्रकारितामा संघर्ष संवेदनशीलता को गहिरो बुझाइ सुनिश्चित गर्दछ ।

यस हाते पुस्तकले पत्रकारितामा द्वन्द्व संवेदनशीलताको गहिरो बुझाइ सुनिश्चित गर्दै प्रत्येक प्रशिक्षण कार्यशाला छ वटा विशेष क्षेत्रहरू वरिपरि रहेर निमार्ण गरिएको छः

  •  द्वन्द्व–संवेदनशील पत्रकारिता सम्बन्धी बुझाई
  •  द्वन्द्व–संवेदनशील समाचार लेखन र उत्पादन
  •  संवेदनशीलताका साथ जानकारी सङ्कलन
  •  गलत सूचना र घृणायुक्त भाषणका भाषणको विरुद्धमा केन्द्रित पत्रकारहरूका लागि मिडिया साक्षरता
  •  समाचार रिर्पोटिङमा द्वन्द्व संवेदनशीलता
  •  द्वन्द्व–संवेदनशील समाचार आचारसंहिताको निमार्ण

तालिमको अन्तरक्रियात्मक ढाँचाले सहभागीहरूलाई समूह छलफल र प्रस्तुतीकरणमा भाग लिने अवसर दिएको थियो । जसमा तालिममा सहभागी पत्रकारहरुले समुहमा रहेर महत्वपूर्र्ण प्रश्नहरूमाथि छलफल गरेका थिए । जस्तैः पत्रकारहरूले विविध विषयहरूको रिर्पोटिङ गर्दा संवेदनशील हुनु किन आवश्यक छ ? घृणास्पद भाषण र गलत सूचनाको पहिचान कसरी गर्ने ? स्रोतको गोपनियताको सुरक्षा किन गर्नुपर्छ ? तस्बिरहरू साझा गर्दा के कस्ता नैतिक प्रश्नहरू उठ्छन् ? र पत्रकारहरूको लागि तथ्य–जाँच किन महत्त्वपूर्ण छ?

ती छलफलहरूबाट पत्रकारहरूले द्वन्द्व–संवेदनशील पत्रकारितालाई व्यावहारिक रुपमा कसरी लागु गर्ने र सामाजिक सद्भाव बढाउन र द्वन्द्व रोक्न पत्रकारको भूमिकाको महत्वको बारेमा जानकारी प्राप्त गरेका छन ।

नेपालको पहिलो द्वन्द्व–संवेदनशील पत्रकारिता सम्बन्धी आचार संहिता

तालिमको प्रमुख उपलब्धीहरु मध्ये एक द्वन्द्व–संवेदनशील पत्रकारिताको आचार संहिता निर्माण हुनु हो, जुन नेपालमा नै पहिलो पटक निमार्ण गरिएको हो । यो आचारसंहिताले द्वन्द्वको रिपोर्टिङमा पत्रकारहरूको जिम्मेवारीलाई जोड दिएको छ । जस्ले हिंसा वा भेदभाव घटाउन र पत्रकारहरुलाई द्वन्द्वको रिपोर्टिङ गर्दा संवेदनशील हुन मद्दत गर्नेछ ।

आचार संहिताकाप्रमुख बुदाहरु यसप्रकार छन :
मिडिया एक्सन नेपालद्वारा आयोजित द्वन्द्व संवेदनशील पत्रकारितासम्बन्धी दुई दिने कार्यशाला प्रशिक्षणमा सुर्खेत र दैलेखबाट सहभागी २० जना पत्रकारबीच छलफल गरी दैलेख र सुर्खेतमा कार्यरत पत्रकारहरुका लागि द्वन्द्व संवेदनशील पत्रकारितासम्बन्धी आचारसंहिताको मस्यौदा तयार गरिएको छ ।

१– बालबालिकालाई संरक्षण गरी गोपनियता भंग नगर्ने ।
२– समाचारमा द्वन्द्व निम्त्याउने खालका भाषा र शब्दको प्रयोग नगर्ने ।
३– जातीय विभेदका घटनाको समाचार संकलन तथा प्रकाशन/प्रसारणमा संवेदनशील हुने ।
४– राजनीतिक विचारका आधारमा विभेद नगर्ने ।
५– धार्मिक तथा सामाजिक सद्भाव भड्काउने खालका समाचार सामग्री प्रकाशनमा नल्याउने ।
६– समाचार सामग्रीमा लैङ्गिकता, शारिरीक अवस्था, मानसिक स्थितिका आधारमा अपमानजनक शब्दको प्रयोग नगर्ने ।
७– छापा तथा अनलाईन सञ्चार माध्यममा फोटो प्रयोग गर्दा गोपनियता, संवेदनशीलतालाई ध्यान दिने ।
८– लोपोन्मुख, सिमान्तकृत तथा अल्पसंख्यक समुदाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सवालमा समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्दा संवेदनशील हुने ।
९– कर्णालीको इतिहासलाई तोडमोड गरी भ्रामक सूचना प्रवाह नगर्ने ।
१०– समाचार संकलन र प्रसारणका क्रममा जुनसुकै अवस्थामा पनि स्रोतको पहिचान गोप्य राख्ने ।
११– सत्यापन गरेर मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्ने ।
१२– कुनै पनि द्वन्द्वमा परेका व्यक्तिहरुको सवालमा संवेदनशील बन्ने ।
१३– कर्णालीका नागरिकको खाद्य सुरक्षाको सवाललाई अतिरञ्जित नगर्ने ।
१४– कर्णालीको रुढीवादी परम्परा, संस्कृति र संस्कारलाई वढावा नदिने ।
१५– प्रदेश र स्थानीय तहले निर्माण गर्ने नीति तथा कार्यक्रममा लैङ्गिक संवेदनशीलताको सवाललाई प्राथमिकता दिने ।
१६– भौगोलिक अखण्डतामा विवाद उत्पन्न हुने गरी समाचार सामग्री सम्प्रेषण नगर्ने ।
१७– द्वन्द्व संवेदनशील पत्रकारितासम्बन्धी तालिममा सहभागीबाहेकका पत्रकारहरुलाई पनि यससम्बन्धी सिकाई आदानप्रदान गर्ने ।

यो आचार संहिताले नेपालभरिका पत्रकारहरुलाई मार्गदर्शनको रूपमा काम गर्ने उद्देश्य राखेको छ, जसले तथ्यगत रिपोर्टिङ गर्ने र द्वन्द्व –संवेदनशील क्षेत्रहरूमा शान्ति प्रवर्द्धन गर्ने र त्यहा रहेको द्वन्द्व न्युनिकरण गरेर समाजमा शान्ति ब्यवस्थापन गर्न मद्दत गर्नेछ।

यो प्रशिक्षणले स्थानीय पत्रकारहरूको क्षमतामा वृद्धि गर्न र द्वन्द्व –संवेदनशील मुद्दाहरूलाई बुझ्नमा सहयोग गर्दछ।

डोल्पा जिल्लाका पत्रकार लेख बहादुर बुढाले रुकुम पश्चिमको चौरजहारीमा आयोजना भएको प्रशिक्षण सत्रहरूमा सहभागी भएका कारण यस द्वन्द्व –संवेदनशील पत्रकारिताको प्रशिक्षणले आफुले गर्ने रिपोर्टिङका तरिकामा पूर्ण रूपमा परिवर्तन ल्याएको बताउनुभयो । संघर्ष संवेदनशीलता बुझ्न अत्यन्त महत्त्वपूर्ण रहेको, विशेष गरी जात, जातीयता, संस्कृति, अल्पसंख्यक र लिङ्गसँग सम्बन्धित मुद्दाहरूबारे समाचार लेख्दा अब आफुलाई कमजोर स्रोतहरूको संरक्षण गर्ने र तनाव सिर्जना गर्ने भाषाबाट टाढा रहनमा आत्मविश्वास प्राप्त भएको बताउनुभयो ।

सृजना बुद्धाथोकी, सुर्खेतको कार्यशालामा सहभागी पत्रकारले “तथ्य जाँच र गलत जानकारीको सामना गर्ने सत्रहरूमा महत्वपुर्ण सिकाई भएको बताउनुभयो । वहाँले दुर्गम क्षेत्रहरूमा गलत जानकारी चाँडै फैलिने र पत्रकारले जिम्मेवारीका साथ द्वन्द्व –संवेदनशील भई त्यसको सामना गर्न तयार हुनुपर्ने बताउनुभयो वहाँले नयाँ आचार संहिताले दैनिक रिपोर्टिङका लागि महत्वपूर्ण मार्गदर्शनको रूपमा काम समेत उल्लेख गर्नुभयो ।

जुम्लाकी पत्रकार, लक्ष्मी न्यौपानले जुम्ला जिल्लाको खालङ्गामा प्रशिक्षण कार्यशालामा भाग लिएर “बालबालिकाको गोपनीयता संरक्षण र संवेदनशील तस्वीरहरूको प्रयोग गर्दा –संवेदनशील हुनुपर्ने र यो विशेष महत्त्वपूर्ण रहेको बताउनुभयो । यस प्रशिक्षणले हरेक शब्द र चित्रको प्रभावलाई बुझ्न मद्दत गरेको र आफुले शान्ति निर्माणका लागि पत्रकारिता रुपमा प्रयोग गर्ने उल्लेख गर्नुभयो ।

स्थानीय पत्रकारितामा प्रभाव

मिडिया एक्शन नेपालद्वारा आयोजना गरिएका प्रशिक्षण कार्यशालाले कर्णाली प्रदेशका पत्रकारहरुको सशक्त बनाउने एक महत्वपूर्ण कदम हो । जसले कार्यशालामा सहभागीहरू पत्रकारहरु आफ्नो समुदायमा फर्केपछि, उनीहरूले आफ्नो काममा द्वन्द्व–संवेदनशील पत्रकारिता का सिद्धान्तहरू लागू गर्ने अपेक्षा गरेको छ, जसले कर्णाली प्रदेशमा शान्ति स्थापना कायम राख्न र मिडियाहरुलाई संवेदनशील भई समाचार तथा सुचना सम्प्रेषण गर्न प्रेरित गर्ने अपेक्षा राखेको छ ।

“यस पहलले कर्णाली प्रदेशमा द्वन्द्व रोक्न र मिडियाले नेपालको निरन्तर शान्ति निर्माणका प्रयासहरूमा रचनात्मक भूमिका खेल्न महत्त्वपूर्ण भुमिका खेल्ने मिडिया एक्शन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले बताउनुभयो । कार्यशाला मिडिया एक्शन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्त, अन्नपूर्ण एक्सप्रेस अंग्रेजी दैनिकका सम्पादक कमल देव भट्टराई र मिडिया एक्शन नेपालका कर्णाली प्रदेशसंयोजक ललित बहादुर बुढाले सहजिकरण गर्नुभएको थियो ।

यो द्वन्द्व–सम्वेदनशील पत्रकारिता सम्बन्धी तालीम र प्रशिक्षण सत्रहरू मिडिया एक्शन नेपाल र जर्मन सहयोगी संस्था (GIZ-CPS ) सिभिल पिस सर्भिसको साझेदारीमा “शान्ति निर्माणमा मिडिया, युवा र नागरिक समाजको भूमिका सुदृढ गर्दै” – strengthing the role of journalist youth and CSOs in peace–building परियोजनामार्फत् सञ्चारमाध्यम, युवा, र नागरिक समाज संगठनहरूलाई शान्ति प्रवर्द्धनमा सशक्त बनाउन पत्रकारहरुको क्षमता बढाउने उदेश्यले आयोजना गरिएको हो जसले नेपालमा शान्ति र स्थिरता प्रवर्द्धनमा मिडियाको भूमिकालाई बलियो बनाउने उद्देश्य राखेको छ।

Facebook Comments