संविधानको कार्यान्वनयमार्फत जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ: अध्यक्ष दाहाल
काठमाण्डू, २०८१ असोज ३ गते बिहीबार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटो भएको बताउनुभयो ।
सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोचका विरुद्ध राष्ट्र र जनतालाई एकताबद्ध गर्नु नै संविधान दिवस मनाउनुको उद्देश्य भएको भन्नुहुँदै अध्यक्ष दाहालले संविधानप्रदत्त अधिकारलाई थप सुदृढ गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्नुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, जसले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकारसम्पन्न बनाएको छ र राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई एक हदसम्म सुनिश्चित गरेको छ । यसलाई अझ सुदृढ गर्न अगाडि बढ्नु हामी सबैको जिम्मेवारी हो”, शुभकामना सन्देशमा भनिएको छ ।
संविधानको थप सुदृढीकरणकका लागि आफ्नो पार्टीले निरन्तर अभियानात्मक कार्यक्रमअघि बढाउने तयारी गरिरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न र यस अभियानमा सहभागी हुन आमजनसमुदायमा अपिल गर्नुभयो । दिवसले संविधान कार्यान्वयनमा बाँकी रहेका काम तदारुकता र दृढताका साथ कार्यान्वयन गर्न उत्प्रेरणा मिलोस् भनी उहाँले कामना गर्नुभएको छ ।
अध्यक्ष दाहालले संविधान निर्माणका निम्ति योगदान गर्ने देशभित्र र बाहिरका सम्पूर्ण नेपाली जनताप्रति बधाई र शुभकामनासमेत व्यक्त गर्नुभएको छ । उहाँले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणस्तरसम्म ल्याइपुर्याउन जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनलगायतमा प्राण उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण र सम्पूर्ण बेपत्ता योद्धा, घाइते तथा अपाङ्गतालगायतमा सम्मान प्रकट गर्नुभएको छ । रासस