चिकित्सक हत्या प्रकरण : कोलकातामा प्रहरी प्रमुख बर्खास्त
कोलकाता, २०८१ असोज १ गते मंगलबार । कोलकातामा भारतीय अधिकारीहरूले चिकित्सकको क्रुर बलात्कार र हत्याको विरोधमा उग्र प्रदर्शनपछि सहरका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका शीर्ष अधिकारीलाई बर्खास्त गरेका छन् ।
अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सक रगतले लतपतिएको शव फेला परेपछि महिला विरुद्ध हिंसाको दीर्घकालीन मुद्दालाई लिएर देशव्यापी आक्रोश सिर्जना भएको छ ।
उक्त हत्यापछि सम्पूर्ण भारतमा विरोध प्रदर्शन सुरु भयो र महिलाका लागि सुरक्षित स्थितिको माग गर्दै चिकित्सकहरूले बारम्बार हडताल गरेका छन् । बाँकी भारतमा धेरै विरोध प्रदर्शन र हडताल शान्त भए पनि पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा नियमित प्रदर्शन जारी छ ।
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सोमबार राति चिकित्सकहरूसँगको बैठकपछि कोलकाता प्रहरी आयुक्त र स्वास्थ्य विभागका दुई अधिकारीलाई हटाउने घोषणा गर्नुभयो ।
बैठकपछि उहाँले पत्रकारहरूसँग भन्नुभयो, “हामी स्वास्थ्य सेवाका निर्देशक र मेडिकल कलेजका निर्देशकलाई हटाउन सहमत भयौँ ।” जुनियर चिकित्सकहरूको मागअनुसार कोलकाताका प्रहरी आयुक्त विनीत गोयललाई पनि हटाइने छ ।
मुख्यमन्त्री बनर्जीले चिकित्सकहरूलाई काममा फर्कन आग्रह गर्दै उनीहरूको हडतालले आपत्कालीन सञ्चालन प्रभावित भएको बताउनुभयो ।
तथापि पश्चिम बङ्गाल जुनियर डाक्टर्स फ्रन्ट विरोध समूहका प्रवक्ता अनिकेत महतोले घटनाको अनुसन्धान पूरा नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।
हत्याको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ तर अनुसन्धानको तरिकालाई लिएर पश्चिम बङ्गाल राज्यको सरकारले सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ ।
“हामी केही विन्दुमा सहमत भएका छौँ तर असहमति कायमै छ”, महतोले भन्नुभयो । पीडितलाई न्यायको माग गर्दै सोमबार हजारौँ प्रदर्शनकारीले सहरको सडकहरूमा नारा लगाउँदै जुलुस निकालेका थिए ।
हत्याको क्रुरताले ‘मुलुकको अन्तरात्मालाई आघात’ पुर्याएको भन्दै भारतको सर्वोच्च अदालतले गत महिना स्वास्थ्यकर्मीहरूको सुरक्षा कसरी सुदृढ गर्ने भनेर जाँच गर्न एक राष्ट्रिय कार्यदललाई आदेश दिएको थियो ।
आक्रमणको विभत्स प्रकृतिको तुलना सन् २०१२ मा दिल्ली बसमा एक युवतीमाथि भएको सामूहिक बलात्कार हत्यासँग गर्न थालिएको छ ।
दिल्ली घटना प्रमुख राजनीतिक मुद्दा बन्यो र निर्वाचनहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको सफलतामा एक कारकका रूपमा हेरियो ।
भाजपा मुलुकभरमा सत्तारूढ पार्टी हो तर पश्चिम बङ्गाल राज्य सरकारको नेतृत्व अखिल भारतीय तृणमूल काङ्ग्रेससँग छ । एएफपी