‘समृद्धिका लागि सरकार उद्योगीसँग हातेमालो गर्न तयार’
काभ्रेपलाञ्चोक ,२०८१ भदौ ३१ गते सोमबार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक समृद्धि हासिल गर्न सरकार उद्योगी व्यवसायीसँग हातेमालो गर्न तयार रहेको बताउनुभएको छ ।
नेपाल इँट्टा उद्योग महासङ्घको १६औँ साधारणसभा उद्घाटन समारोहलाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न इँटा उद्योगलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । “सरकार व्यवसायीसँग हातेमालो गर्दै आर्थिक समृद्धितर्फ उन्मुख हुने अभियान छ । व्यवसायीले पनि सहकार्य गर्ने सोच बनाउनुस्, सरकार तयार छ”, मन्त्री भण्डारीले भन्नुभयो । उहाँले व्यवसायीले सरकारलाई विरोधीको आँखाले नहेर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्र सफल बने मेरो पनि व्यवसाय सफल हुन्छ भन्ने व्यवसायीले सोच्नुप¥यो ।”
मन्त्री भण्डारीले व्यवसाय तथा उद्योगमा यथास्थितिकै चुनौति देखिएको उल्लेख गर्दै यसलाई सरकार र व्यवसायी दुवै पक्ष मिलेर सामना गर्नुपर्ने बताउनुभयो । आफ्नो मन्त्रालयको ‘मन्दीदेखि समृद्धि’ सम्मको अभियानलाई व्यवसायीले पूर्ण साथ दिनुपर्ने उहाँको धारणा थियो ।
मन्त्री भण्डारीले देशको आयात र निर्यातको चुनौती समाना गर्न ‘मन्त्रालय-व्यवसायी’ बीच को दूरी कम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले मन्त्रालयले उद्योग, व्यवसायसम्बन्धी अध्ययन कार्यदल बनाएकाले कार्यदलको प्रतिवेदनअनुसार व्यावसायिक सुदृढीकरणबारे छिट्टै योजना ल्याइने जानकारी दिनुभयो । इँट्टा उद्योगलाई प्रविधि एवं जलवायुमैत्री बनाइ रोजगारी प्रवर्द्धन गर्दै वातावरण संरक्षण गर्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे श्रेष्ठ र लक्ष्मण लम्साललगायतले मन्दीको अवस्थाबाट माथि उठ्न उद्योग व्यवसायीलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । महासंघका अध्यक्ष शंकरबहादुर चन्दले उद्योगीको बैंकको ऋणको समयावधि थप गरिदिन अनुरोध गर्नुभयो । उहाँले आर्थिक मन्दीका कारण ३० प्रतिशत उद्योग बन्द अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार देशभर एक हजार दुई सय इँट्टा उद्योग महासङ्घमा आबद्ध छन् । रासस