Thu. Sep 26th, 2024

बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की   

विराटनगर, २०८१ भदौ २९ गते शनिबार । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताउनुभएको छ ।

आज बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले बाल अधिकार रक्षाका लागि यस सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारीसमेत भएको उल्लेख गर्नुभयो ।

उहाँले बालबालिकाको अधिकार रक्षा गर्दै उनीहरुमा रहेको प्रतिभालाई प्रस्फुटन गराएरमात्रै भविष्यका जिम्मेवार नागरिक बनाउन सकिने उल्लेख गर्नुभयो ।

“नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । यसबाट बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता विषय समेट्दै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको छ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री कार्कीले अझै पनि कोशी प्रदेशका दुर्गम गाउँ र बस्तीका बालबालिकाहरूले अनलाइन कक्षाबाटसमेत बञ्चित हुनुपरेको अवस्था रहेको चर्चा गर्दै उक्त समस्या समाधान गर्न सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको बताउनुभयो ।

आज ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ बाल दिवस २०८१ मनाइँदै छ ।  रासस

Facebook Comments