Sun. May 5th, 2024

लकडाउन ८० दिनपछि खुकुलो पारियो, सवारीमा जोर बिजोर, पसल व्यवसाय खुला, कार्यालय दुई शिफ्टमा सञ्चालन गरिने ।

काठमाडौं, २०७७ जेठ २९ गते बिहीबार

विभिन्न सर्त सहित सरकारले ८० दिनपछि अकडाउन(बन्दाबन्दी)खुकुलो पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले विद्यमान लकडाउनको स्वरुपमा व्यापक परिवर्तन गरि खुकुलो पारिएको जानकारी दिनुभयो ।

लकडाउनको परिवर्तित स्वरुप अनुसार सरकारले निजी सवारी चलाउन जोर बिजोरको आधारमा सम्बन्धित जिल्लामा जिल्लाभित्र मात्र र उपत्यकाभित्रका सवारी साधनको हकमा उपत्यकाभित्र मात्र चलाउन पाउने निर्णय गरेको छ । त्यस्तै, उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्टल स्टोर खुल्ला गर्न पाउने तर सपिङ मलहरू भने खुलाउन नपाउने निर्णय गरेको छ । निजी सवारीमा चालकबाहेक दुई जनाले यात्रा गर्न पाउने, मोटरसाइकलमा एक जना मात्र चढ्न पाउने निर्णय गरेको छ ।

बैंक, वित्तीय संस्था, सहकारी र विमा सेवा, सरकारी कार्यालय शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने र ती संस्थाका कर्मचारी ओसार्ने सवारी साधनको काम असार १ गतेबाट र अन्य तत्काल लागू हुनेछ । जोर विजोर सवारी सञ्चालनमा सवारी साधनको नम्बर प्लेटमा पछिल्लो दुई अङ्क जोर भएको सवारी साधन जोर गतेको दिनमा र विजोर भएको अङ्क भएको सवारी साधन विजोर दिनमा सञ्चालन हुनेछ ।

गोरखापत्र अनलाईनका अनुसार शिक्षण संस्थाहरूका कार्यालय मात्र सञ्चालन गर्न पाउने तर पठनपाठन गर्न नपाउने, त्यस्तै सरकारी वा अन्य सङ्घसंस्थाका कार्यालय दुई सिफ्टमा चलाइने बताउनुभयो । उहाँका अनुसार विहान ८ देखि १ पहिलाे र १ देखि ६ बजेसम्म दोश्रो सिफ्ट सञ्चालन हुनेछ ।

रेष्टुरेन्टमा बसेर खान नपाउने तर लिएर जान पाउने निर्णय पनि गरिएको छ भने होटल क्वारेन्टाइनको लागि मात्र चलाउन पाउने उहाँले जानकारी दिनुभयो ।
सामान्य हिँड्डुल गर्न पाउने र त्यसको लागि अनिवार्य मास्क लगाउनुपर्ने र भिडभाड गर्न नपाउने बताइएको छ ।

निजी सेवा प्रदायक संस्थाका कर्मचारी ओसार्न सार्वजनिक सवारी चलाउन पाउने तर त्यसमा एक लहरमा एक जना मात्र राख्न पाउने, चालकबाहेक दुई जनाले यात्रा गर्न पाउने, यात्रीहरूकाे मास्क अनिवार्य र यातायातका साधन स्यानिटाइज गरेर मात्र चलाउने पाउने उहाँले बताउनुभयो ।

Facebook Comments