Sat. May 4th, 2024

दाङ लगायत देशभर एमसीसी सम्झौता खारेजकाे पाेष्टर टाँसिए

काठमाडौं, २०७७ जेठ २८ गते बुधबार

राष्ट्रघाती एमसीसी सम्झौताको खारेज गराैँ! राष्ट्रिय सार्वभाैमिकताकाे रक्षा गराैँ!! भन्ने मूल नारा सहितको पाेष्टर नेपाल कम्युनिस्ट पार्टीले दाङ लगायत देशभर टाँस गरेको छ ।

एमसीसीविरुद्धकाे संघर्ष कार्यक्रम गर्दै आईरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रूपमा पाेष्टर टाँसेकाे छ । यसै अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी दाङले घाेराही बजार, तुलसीपुर, बिजाैरी, नारायणपुर, रामपुर, लमही लगायत जिल्लाभर पाेष्टर टाँसेकाे जनाएको छ ।

यस्तै राप्ती ब्युरोका अन्य जिल्ला, नारायणी ब्युरोभर,  काठमाडौं, ललितपुर लगायत देशभर पाेष्टर टाँसेकाे जनाएको छ ।

उक्त पार्टीले एमसीसीविरुद्धकाे संघर्ष कार्यक्रमअन्तर्गत यसअघि देशव्यापी एमसीसी सम्झौता पत्र जलाउनुका साथै मसालजुलुस, प्ले कार्ड प्रचार तथा प्रदर्शन गरिसकेको छ । नेपालका आम नागरिक, देशभक्त, बुद्धिजीवी र राजनीतिक पार्टीहरूले निरन्तर विरोध गर्दै रोकिँदै आएको अमेरिकी अतिक्रमणकारी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई केपी सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसदबाट पास गर्न खोजिरहेको भन्दै केपी ओली, शेर बहादुर देउवाको पुतला समेत देशभर दहन गरिसकेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले संघर्षको कार्यक्रम घाेषणा गर्दै एमसीसी सम्झौता सम्पूर्ण रूपले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको स्थितिमा उक्त सम्झौतालाई कुनै पनि हालतमा संसदबाट पास नगर्न विशेष रूपले अस्ति नै आग्रह गरिसक्नु भएको छ ।

केन्द्रीय समितिका तर्फबाट वक्तव्य जारी गरी महासचिव विप्लवले एमसीसीविरुद्ध विभिन्न प्रचारात्मक सङ्घर्षका कार्यक्रम घोषणा गर्दै आमहडतालसम्म गर्ने चेतावनी दिनु भएको छ ।

विप्लवले जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन अनुरोध पनि गर्नुभएको छ ।  प्रतिरोधबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने चेतावनी पनि महासचिव विप्लवले दिनु भएको छ ।

महासचिव विप्लवद्वारा वक्तव्यमा भनिएको छ, ‘नेपालका आमनागरिक, देशभक्त, बुद्धिजीवी र राजनीतिक पार्टीहरूले निरन्तर विरोध गर्दै रोकिँदै आएको अमेरिकी अतिक्रमणकारी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई केपी सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसद्बाट पास गर्न खोजिरहेको विषयप्रति हाम्रो पार्टीको ध्यान गम्भीर प्रकारले आकर्षित भएको छ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा अत्यधिक जनमत पास गर्नु हुँदैन भन्नेमा देखापरेको छ । त्यसैगरी कयौँ राजनीतिक पार्टी र व्यक्तित्वहरूले पनि त्यसका विरुद्ध सङ्घर्ष गरिरहेका छन् । यसप्रति हाम्रो पार्टी खुसी व्यक्त गर्दछ । सरकारी नेकपाभित्र पनि पास गर्नु हुँदैन भन्ने पक्ष देखापर्नुलाई पार्टीले सकारात्मक महत्वका रूपमा लिएको छ । हामी एमसीसी सम्झौता सम्पूर्ण रूपले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको स्थितिमा उक्त सम्झौतालाई कुनै पनि हालतमा संसद्बाट पास नगर्न विशेष रूपले आग्रह गर्दछौँ । साथै सरकारी नेकपालाई यस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन आग्रह गर्दछौँ ।’

वक्तव्यको अन्त्यमा महासचिव विप्लवले भन्नु भएको छ, ‘हामी एमसीसी सम्झौताले अमेरिका–नेपाल सम्बन्धमा समेत गम्भीर नकारात्मक परिणाम ल्याउने भएकाले अमेरिकी सरकारलाई पनि यो सम्झौता नेपालमा नलाद्न र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न आग्रह गर्दछौँ । यदि जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन अनुरोध गर्दछौँ । साथै नेपाल कम्युनिस्ट पार्टीले सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिन चाहन्छ । त्यसबाट पैदा हुने परिस्थितिको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने पनि स्पष्ट गर्दछ ।’ दाङ सन्देश अनलाईनबाट

Facebook Comments