Fri. Apr 19th, 2024

नेपालमै कोरोना विरुद्धको ‘खोप’ बनेको दाबी : डब्लूएचओको चासो

काठमाडौं, २०७७ जेठ २३ गते शुक्रबार

हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री)का प्राध्यापक डा. ललितकुमार लाल दासले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको भाइरसविरुद्ध लड्न प्रतिरोधात्मक र उपचारात्मक औषधि आफूले ७० दिन लगाएर तयार पारेको उनको दाबी छ।

शुक्रबार पत्रकार सम्मेलन गरेर उनले आफ्नो खोज र यसको प्रक्रियाबारे जानकारी दिँदै परीक्षणका लागि सम्बन्धित निकायलाई आग्रह गरेका हुन्। बोटविरुवामा आधारित औषधि निकालेको भन्दै उनले डाक्टरबाट पनि यसबारे आफूलाई प्रतिक्रिया प्राप्त भइरहेको बताए।

भाइरस निको हुने र मानिसमा रोग प्रतिरोधी क्षमता बढाउने गरी दुई प्रकारको नमूना तयार बनाएको उनले बताए।  ‘अहिलेलाई मेरो काम सकियो, अब सरकारले आफ्नो काम अघि बढाओस्’, उनले भने,‘पछि आवश्यक परेको बेला म थप काम गर्दै जानेछु।’

‘मैले गलत चिज प्रयोग गरेको छैन। तर यो ठिक छ वा छैन भनेर परीक्षण होस्, मेरो चाहना यही छ’, उनले भने। परीक्षणको नियम बमोजिम नै विभिन्न जीवमा परीक्षण गरेर पछि मानिसमा प्रयोग गर्न सकिने उनले बताए। ‘जे नियम छ, सोही बमोजिम परीक्षण होस्, तर मेरो ७० दिनको मिहिनत यत्तिकै खेर नजाओस्’, उनले भने।

काठमाडौंमा भाइरलोजिस्ट यस्ता किसिमको ल्याब रहेको र यसअघि पनि परीक्षण भएको भन्दै उनले आफूले तयार पारेको यो प्रविधि पनि ती ल्याबमा हेरिदिन ध्यानाकर्षण गराएका छन्।
‘मैले प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाललाई पनि यो जानकारी गराएको छु। काठमाडौंका विभिन्न अस्पताल, त्रिभुवन विश्वविद्यालयसहित देशमा ८ वटा ल्याब छन्। मैले गुगलबाट यो जानकारी लिएको हुँ’, उनले भने।

कोरोनाको नेचर हेरेर, त्यस अनुसारको प्रयोग गरेको उनको दाबी छ। ‘मैले सुरु गरेको अभियान पूरा नभएसम्म काम छोड्दिन’, उनले भनेका छन्। ‘अहिले कोरोनासँग डराउने होइन, लड्ने हो भन्न थालिएको छ, मैले जुन दिन काम सुरू गरेँ, त्यतिबेलै यसविरुद्ध लड्ने हो भन्ने मनमा लिइसकेको थिएँ’, उनले भने।

कोरोना विरुद्धको भ्याक्सिनमा डब्लूएचओको चासो

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाविरुद्धको भ्याक्सिनमा चासो देखाएको छ। हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशलामा तयार पारिएको कोरोनाविरुद्ध निर्माण भएको औषधि तथा प्रयोगशालाको सम्बन्धमा डब्लूएचओेले चासो लिएको हो।

त्रिभुवन विश्व विद्यालय अन्र्तगतको अध्ययन संस्थानका प्रध्यापक डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको दाबी गरेको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्लूएचओले जानकारी लिएको छ।

डब्लूएचओले भिडियो वार्तामा नेपालसहित ७३ राष्ट्रसँग प्रत्यक्ष रुपमा कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सम्बन्धी छलफल गरेको डा. दासले जानकारी दिए।

उक्त प्रयोगशालामा उत्पादन गरिएको औषधि सम्बन्धमा आवश्यक जानकारीका लागि संस्थानका प्राध्यापक दामोदर गैरेले डब्लूएचओमा लिखित प्रस्ताव पठाएको र उक्त प्रयोगशाला पनि छनोट भएपछि भिडियो सम्मेलनमा यसबारे छलफल भएको दासको दाबी छ। अन्नपूर्ण पोष्ट अनलाईनबाट

Facebook Comments