Fri. Oct 4th, 2024

सिनवार हमास समूहको प्रमुख नियुक्त   

प्रमुख याह्या सिनवार

जेरुसेलम, २२०८१ साउन २३ गते बुधबार । गत हप्ता आफ्ना पूर्ववर्ती नेता इस्माइल हनियाको हत्यापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ राजनीतिक प्रमुखमा नियुक्त गरेको छ । गत अक्टोबर ७ मा गाजा युद्ध भड्काउने आक्रमणका मुख्य योजनाकारमध्ये एकका रूपमा इजरायलले सिनवारको नाम लिने गरेको छ ।

तेहरानमा हनियाको हत्यापछि इरानले प्रतिशोध लिने चेतावनी आइरहेका समय हमास समूहले यो घोषणा गरेको हो ।

इरानले हनियाको मृत्युको दोष इजरायललाई दिएको छ र घटनाको बदला लिने कसम खाएको छ भने हमासको लेबनानी सहयोगी हेजबुल्लाहले पनि बेरुतमा इजरायली आक्रमणमा हनिया र उहाँका सैन्य कमाण्डर फुआद शुकरको हत्याको बदला लिने प्रतिबद्धता जनाएको छ ।

सन् २०१७ देखि गाजामा हमासको नेतृत्व गर्दै आएका सिनवार र हनिया कतारमा बस्दै आएका थिए ।

हमासका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएअनुसार सिनवारको चयनले लडाकू समूहले ‘प्रतिरोधको बाटो जारी राखेको’ सन्देश दिएको छ ।

कब्जा गरिएको वेस्ट बैङ्कमा प्यालेस्टिनी प्राधिकरण सञ्चालन गर्ने प्रतिद्वन्द्वी फताह आन्दोलनको केन्द्रीय समितिका सचिव जिब्रिल राजौबले यो निर्णय ‘तार्किक र अपेक्षित’ भएको बताउनुभयो ।

हेजबुल्लाहले सिनवारलाई बधाई दिँदै भनेको छ, “यो नियुक्तिले ‘हमासका नेता र अधिकारीहरूको हत्या गरेर शत्रु.नास्ने आफ्नो उद्देश्य हासिल गर्न इजरायल असफल भएको पुष्टि गर्छ ।

इजरायलका विदेशमन्त्री इजरायल काट्जले सिनवारको हमास प्रमुखमा भएको नियुक्तिपछि दिएको प्रतिक्रियामा भन्नुभयो, “सिनवारको नियुक्ति कुनै अनौठो नभएको र यो ती नेताको पनि छिट्टै अन्त्य हुने र हमासजस्तो घृणित सङ्गठनलाई ध्वस्त पार्ने अर्को बाध्यकारी कारण हुने बताउनुभएको छ ।”

विश्लेषकहरूका अनुसार सिनवार युद्धविराम सम्झौताका लागि हनियाभन्दा पनि बढी अनिच्छुक नेता हुनुहुन्छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै युद्धविरामका लागि सिनवारले सहयोग गर्ने बताउनुभएको छ ।

यसैबीच, शुकरको मृत्यु भएको एक हप्ता नबित्दै हेजबुल्लाहका नेता हसन नसरल्लाहले टेलिभिजनमा सम्बोधन गर्दै आफ्नो समूह र तेहरान हनिया र शुकरको मृत्युप्रति प्रतिक्रिया जनाउन बाध्य भएको बताउनुभएको छ ।

हेजबुल्लाहले यस क्षेत्रमा इरान समर्थित समूहहरूको ‘एक्लै वा सबैको नेतृत्व गर्दै’ प्रतिकार गर्ने नसरल्लाहले बताउनुभएको छ । एएफपी

Facebook Comments