Thu. Oct 3rd, 2024

बङ्गलादेश : अन्तरिम सरकारको नेतृत्व गर्न युनुस तयार   

ढाका, २०८१ साउन २२ गते मंगलबार । बङ्गलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले लामो समयदेखि शासन गर्नुभएकी शेख हसिना पदच्यूत भएसँगै मुलुकबाट पलायन भएको एक दिनपछि मङ्गलबार कामचलाउ सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीबाट अपदस्थ हसिनाको दुश्मनी र लाखौँ बङ्गलादेशीको व्यापक सम्मान आर्जन गर्नुभएका लघुवित्तका अग्रणी ८४ वर्षीय युनुसलाई लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकालेको श्रेय दिइन्छ ।

“यदि बङ्गलादेशमा मेरो देश र जनताका लागि साहसको कारवाही आवश्यक छ भने म यो लिनेछु ।” विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान गरेपछि उहाँले ‘स्वतन्त्र निर्वाचन’ को पनि आह्वान गर्नुभएको छ ।

छयत्तर वर्षीया हसिना सन् २००९ देखि सत्तामा हुनुहुन्थ्यो तर उहाँमाथि जनवरीमा भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको थियो । त्यसपछि गत महिना उहाँको राजीनामाको माग गर्दै लाखौँ जनता सडकमा उत्रिएका थिए ।

अशान्ति दबाउने सुरक्षा बलको प्रयासमा सयौँ मानिस मारिए तर विरोध बढ्दै गयो र सेना आफ्नो विरुद्धमा भएपछि हसिना अन्ततः सोमबार एक हेलिकप्टरमा सवार भएर भाग्नुभयो ।

सेना प्रमुख जनरल वेकर-उज-जमानले सोमबार सेनाले अन्तरिम सरकार बनाउने घोषणा गर्दै अब ‘हिंसा रोक्ने समय’ आएको बताउनुभयो ।

राष्ट्रपतिले मङ्गलबार संसद् भङ्ग गर्नुभएको छ । विद्यार्थी नेताहरू र प्रमुख विपक्षी बङ्गलादेश नेशसनल पार्टी (बिएनपी) ले संसद् भङ्ग गर्न र तीन महिनाभित्र निर्वाचन गर्न माग गरेका थिए । एएफपी

Facebook Comments