Thu. Oct 3rd, 2024

‘मिडिया काउन्सिल’लाई ‘आमसञ्चार परिषद्’ मा परिवर्तन गर्ने सहमति   

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङ मङ्गलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको बैठकमा सहभागी हुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाण्डू, २०८१ साउन २२ गते मंगलबार । सञ्चार, तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद्मा परिवर्तन गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ । साथै उहाँले नाम परिवर्तनमा आफ्नो विमति नरहेको स्पष्ट गर्नुभएको छ ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक’लाई ‘आमसञ्चार परिषद्’ का रूपमा नामकरण गर्न उहाँले समर्थन जनाउनुभएको हो । उहाँले भन्नुभयो,“मिडिया काउन्सिलको सट्टा आमसञ्चार परिषद् राख्नु उपयुक्त हुन्छ ।”

सञ्चार, तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको समेत उपस्थिति रहेको बैठकका सहभागीले विधेयकको नाम नेपाली हुनुपर्ने माग गर्नुभएको थियो ।

सचिव अर्यालले ‘मिडिया काउन्सिल’ प्रचलित रहेकाले यो असान्दर्भिक नहुने बताउनुभयो । यद्यपि उहाँले नेपाली नामप्रति असहमति जनाउनु भएन ।

समितिका सभापति जयन्तीदेवी राईले नेपाली भाषाको संरक्षण गर्ने उद्देश्यले सांसदहरुले विधेयकको नाम आमसञ्चार परिषद् राख्नुपर्नेमा सबै सदस्यले जोड दिएका सुनाउनुभयो ।

त्यसअघि सांसद मदनकुमारी शाह(गरिमा) ले नेपाली भाषाको संरक्षण गर्नु राज्यको दायित्व भएकाले विधेयकको नाम नेपाली नै हुनुपर्ने संशोधन प्रस्ताव दर्ता गर्नुभएको थियो ।

समितिका सदस्यहरू बेदुराम भुसाल, गङ्गाकुमारी बेलबासे, सुमित्रा बिसी, सुरेश आलेमगर, युवराज शर्माले विधेयकको नाम नेपालीमा राख्नुपर्ने बताउनुभएको थियोभने अर्का सदस्य कृष्णप्रसाद सिटौलाले मिडिया काउन्सिल पदावली विश्वभर स्थापित प्रचलित भएकाले त्यो पनि अमान्य नहुने तर्क गर्नुभएको थियो ।

समितिका अर्का सदस्य नारायणदत्त भट्टले मिडिया काउन्सिल पनि मान्य हुने बताउनुभएको थियो । विधेयकमा काउन्सिलको सिफारिस समिति छनोट, अध्यक्ष छनोट, उपभोक्ता सङ्ख्या, उमेरको हदबन्दीलगायत विषयमा सबैको एउटै मत छैन । रासस

Facebook Comments