Wed. Oct 2nd, 2024

श्रीलङ्कालाई हराउँदै भारत काभा भलिबलको फाइनलमा   

काठमाण्डू, २०८१ साउन २२ गते मंगलबार । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा भारतले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको पहिलो सेमिफाइनल खेलमा श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतले खेलको पहिलो सेट २५-१५ ले जित्यो भने खेलको दोस्रो सेट २५-१६ ले आफ्नो पक्षमा पार्‍यो ।

त्यस्तै, खेलको तेस्रो तथा अन्तिम सेट भारतले श्रीलङ्कामाथि २५-२३ को जित निकाल्यो । खेलको तेस्रो सेटमा भने श्रीलङ्को प्रदर्शन उत्कृष्ट रहेको थियो । श्रीलङ्काले १२-८ को अग्रता लिएपछि भारतलाई केही समय कठिन परेको थियो तर त्यो अग्रता श्रीलङ्काले लामो समयसम्म जोगाउन सकेन । त्यसपछि भारतले लगातार चार अङ्क बटुल्दै खेललाई १२-१२ को बराबरीमा ल्यायो ।

त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट अन्त्यमा भारतले २५-२३ ले आफ्नो पक्षमा पा¥यो । आजै हुने दोस्रो सेमिफाइनल खेलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेतासँग भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो सेमिफाइनल खेल आज सवा ५ बजेदेखि सुरु हुनेछ । यसअघि समूह चरणको खेलमा इरानसँग नेपाल ३-२ ले पराजित भएको थियो । सोही हारको बदला लिँदै नेपाल फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।  रासस

Facebook Comments